हामी नर्सहरुलाई प्राय सोध्ने गरिन्छ– मरेको मान्छेदेखि डर लाग्दैन ? उपचारका क्रममा हस्पिटलमै दिनहुुँजसो मान्छे मरेका हुन्छन् । अझ आइसियु र ईमर्जेन्सी कक्षमा त धेरै मान्छे उपचारका क्रममा दम तोडने गर्दछन् । सधैं जसो यस्तो घटनाको प्रत्यक्षदर्शि हामी स्वस्थ्यकर्मी हुने गर्दछौं । अन्तिम अवस्थासम्म उपचारमा खटिएका हुन्छौं डर भन्दा नि बिरामीलाई बचाउन प्रयत्नरत हुन्छौं । तरपनि कतिपय अवस्थामा हाम्रो प्रयास असफल हुन पुग्छ र एउटा जिउदो शरीर लाश बन्न पुग्छ।
एउटा मृत शरीर जस्लाई मृत्युु पछि पनि उत्तिकै सम्मानका साथ सफा गर्नु हाम्रो कर्तव्य अनि धर्म हो। लाशमा लागेका रगतका टाटा सफा गरिदिन्छौं, क्यानुला हरु हटाइदिन्छौं, पिसाब नाप्न लगाएको क्याथेटर निकाल्छौँ । हात खुट्टा सिधा बनाउने र उनीहरुका आफन्तको इच्छा बमोजिम नयाँ भए नयाँ नत्र पुरानै लुगा लगाईदिन्छौं । त्यो सबै काम गरिरहँदा मनमा भने असाध्यै पिडाले सताइरहेको हुन्छ। अहिलेसम्म चलिरहेको छट्पटाईरहेको शरीर पूरै निर्जीव जस्तो हुँदा, हातखुट्टा चिसो हुँदै जाँदा अनि आँखाले एकोहोरो हेरेको हेरै भइदिँदा।
अझ रातमा कुनै बिरामीको डेथ भयो भने त मनमा एक किसिमको हुरिबतास र चिसो नै छाउन थाल्छ। किनभने मान्छेको मृत्युसँग जोडेर समाजमा अनेक प्रकारका डर पैदा गरिएका छन् । कतै मरेको मान्छे फेरि जागा हुने, भूत बन्ने आदि ईत्यादिन कथा हामी हुर्किदै गर्दा यही समाजबाट दिमागमा भरिएका हुन्छन् ।
हामी स्वास्थ्यकर्मी पनि मानिस नै हौं त्यसैलाई अरुलाई जस्तै केही डर त हामीमा पनि हुन्छ । तर, डराएर भाग्न मिल्दैन हामीले चाहिँ । डर लागेको भए पनि मृत शरीरलाई सम्मानका साथ् केयर गर्छौ । अलि बेस्सरी कपड़ा कस्सिएमा बा गारो पो भयो कि भन्ने पनि लाग्छ। यो मानिसभित्र हुने ईमोसनले पनि सारै दिक्क बनाउँछ। हुन त नर्सिङ पढ्ने ले लाज, घिन र डर मान्नु हुदैन। अझ भनौं स्वस्थ्य क्षेत्रमा लाग्ने जो कोहीले।
डर आफ्नै ठाउँमा छ अनि मृत बिरामीको आफ्नो मान्छेलाई तपाईंको मान्छेलाई बचाउन सकेनौं भन्न त झनै भारी लाग्छ । कत्तिले त सहजै स्वीकार्छन् भने कतिपयले चै नराम्रोसँग आलाप बिलाप गर्न थाल्छन् । यस्तै हो संसारको रित ढिलो चांडो सबैको पालो आउने गर्छ चनेर सम्झाउने कोशि गर्दा कतिपयले ‘आफ्नो मान्छे मरेको भए थाहा पाउनुहुन्थ्यो’ भन्दछन् । नमिठो लाग्छ । सबभन्दा अप्ठ्यारो र नराम्रो त त्यो बेला लाग्छ जुन बेला एनआईसियुका मृत बच्चालाई आफ्नै हातले बोकेर आफन्तलाई दिनुपर्छ। पुरै मूड खराब हुन्छ ‘सरी तपाईंको बच्चालाई बचाउन असर्मर्थ भयौं’ भन्दै सुम्पनु पर्दाको क्षण कम्ति पीडादायी हुँदैन ।
नर्स हुनलाई दृढ़ ईच्छाशक्ति र जस्तोसुकै परिस्थितिमा लड्न सक्ने हिम्मत चाहिन्छ। डरलाई कुल्चिएर अगाडि बढ्ने प्रतिबद्धता चाहिन्छ । नर्सले मानिस जन्मेदेखि मर्ने बेलासम्मका हरेक प्रक्रियामा सामेल हुन परिरहेको जो हुन्छ । _स्वास्थ्य खबर;