पुरानै छ पूजा,धुपौरा पुरानै
पुरानै छ भान्सा,कचौरा पुरानै
भयो के र नौलो,प्रजातन्त्रबाट
सधैँ पाक्न थाले,फुलौरा पुरानै
बसे नित्य घेरेर नेतृत्वलाई
पुरानै छ सारी,र दौरा पुरानै
छ उस्तै सुरापान,उस्तै छ भोज
बनेकै छ छोला भटौरा पुरानै
भएको छ दुर्गन्धको रास ठूलो
खुदै थुप्रॅदै छन्,कुसौरा पुरानै
डसे दुर्दशाले,विरामी छ देश
बढे फेरि काला घमौरा पुरानै
चपाएर नेता बस्यो स्वाद मानी
भयौं देशवासी,तितौरा पुरानै
(भुजङ्गप्रयात छन्द )
-कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका