कविता ''सपना र खण्डहर ''
निधारमा कहिल्यै निको नहुने
घाउका टीका थापेर
छातीमा कहिल्यै नमेटिने
सरापका कोसेली लिएर
युगौंदेखि अश्वत्थामा झैं
भट्किरहन अभिशप्त छौं
समर्पित प्रेमका
समर्पित छालहरु आज
वरदान होइन
अभिशाप बोकेर आएको छ
अनन्त अनन्त प्रतीक्षा पश्चात
जिन्दगीका मोडमा अकस्मात
एक अर्कासँग भेट्दा
न न्यानो अँगालोमा बाध्ने सक्यौं
न तातो स्पर्शले चुम्नै सक्यौं
मुटुबाट निरन्तर माया चुहिरहँदा पनि
अञ्जुलिमा भरिरहन सकेनौ हामीले
आँखाबाट सहस्र मोतीका दानाहरु झरिरहँदा पनि
औंलाहरुले टिपिरहन सकेनौं हामीले
कठै: न मनका कुरा सबै ओकल्नै सक्यौं
कठै: न मनका पीडा सबै पोख्नै सक्यौं
आज अचानक एक अर्कालाई देख्दा
अग्नि झैं प्रज्वलित हुनुको साटो
झन् झन् हिउँ झैं जमिरह्यौं,
पछारिएर छाती चट्टान माथि
रक्तरंजित मुटुले हेरिरह्यौं,
संग्रहित पीडा जताततै दुखाएर
हाम्रा घायल यादका शिविरभित्र
हाम्रा अभिमानका शिविरभित्र
-कुण्ठित हाम्रा भावनाहरु
-खण्डित हाम्रा चाहनाहरु
उमेरका हदवन्दी नाघ्दासम्म पनि
न सँगसँगै हिँडनै सक्यौं
न सँगसँगै उड्नै सक्यौं
न सँगसँगै जिउनै सक्यौं
मनका अनन्त गहराईबाट
एक अर्कालाई चाहँदा चाहँदै पनि
न मायाका सुन्दर संसार जोड्नै सक्यौं
न घृणाका साँग्लाहरु नै तोड्न सक्यौं
सपना त एक खण्डहर रहेछ
जसलाई घर हो भनेर न बस्नै सकिन्छ !
जसलाई घर होइन भनेर न बिर्सनै सकिन्छ ! !
उषा शेरचन
काठमाण्डौ