काठमाडौं बैशाख २३,
नाै महिनासम्म गर्भमा राखेर जन्म दिने आमालाई सम्मान गर्न वैशाख कृष्णऔँसीकाे दिनलार्इ आमाको मुख हेर्ने दिनका रुपमा मनाइँदैछ। यस वर्ष वैशाख २४ गते याे दिन मनार्इंदै छ।
आमालाई मीठो खान लाउन दिई सम्मान गरिन्छ। दिवङ्गत आमाको सम्झनामा तर्पण, पिण्ड दान र श्राद्ध गरी सम्झना गरिन्छ। यसका दिन मातृश्राद्ध गरे अक्षय पुण्य प्राप्त भई आमाले तृप्ति पाउने शास्त्रमा उल्लेख गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए।
"शास्त्रमा बाबुभन्दा आमा दशगुणा बढी मान्य हुन्छिन् भनी व्याख्या गरिएको छ, मातृदेवो भव भनेर सबैभन्दा पहिले भनिन्छ, त्यसपछि मात्र पितृदेवो भव, आचार्यदेवो भव भनिन्छ, यसैबाट शास्त्रले आमालाई महत्व दिएको स्पष्ट हुन्छ"– उनले भने, "कुपुत्रो जायेत क्वचिदपि कुमाता न भवती" अर्थात् छोरा कुपुत्र भए पनि आमा कहिल्यै कुआमा हुँदिनन् भन्ने भनाइ नै छ।
यस दिन काठमाडौँको पश्चिमी भेगमा रहेको मातातीर्थमा दिवंगत आमाको सम्झनामा श्राद्ध गर्ने भक्तजनको भिड लाग्छ। बौद्ध धर्मावलम्बी समेत यहाँ दिवङ्गत आमाको सम्झनामा श्राद्ध गर्न आउँछन् ।
आमा हुनेहरुले आजका दिन आफूलाई मन पर्ने मीठा मीठा खानेकुरा र वस्त्र आमा लगायत गुरुआमा, सासू र काकीहरुलाई दिने र आशीर्वाद ग्रहण गर्छन्। रासस;