नुवाकोट भादौ ४,
रामहरि गजुरेल : युरोपमा अध्ययन गर्ने नेपाली विद्यार्थीहरुको
पहलमा नुवाकोटमा एक विद्यालय निर्माण गरिदिएका छन् ।
जिलिङ गाविसमा रहेको कल्याणीदेवी उच्च माध्यामिक
विद्यालयको भवन भूकम्पले भत्किएर पठनपाठनमा समस्या
भएपछि नौ लाख रुपैयाँको लागतमा तीन कोठे पक्की
भवन निर्माण गरिदिएका हुन् ।
नेपाल बेल्जियम युथ क्लब र बस्क फर नेपाल
लण्डनमार्फत् नेपाली विद्यार्थी ज्योति भट्ट, जगदिश
भट्ट र निमेश मल्लको पहलमा बेल्जियमका करिब चारसय
विद्यार्थीमार्फत् संकलित रकमले विद्यालय भवन निर्माण
भएको हो ।
यसबाहेक कल्याणी उच्च माविमा अध्ययनरत
चारसय १५ जना विद्यार्थीहरुलाई खेलकुद र स्टेशनरी
सामग्रीसमेत वितरण गरेका छन् । शैक्षिक सामग्री वितरण र
विद्यालय भवन निर्माण गरिदिने ज्योति भट्ट, जगदिश भट्ट
लगायतका विद्यार्थीहरुलाई आज अभिभावक, विद्यार्थी र
विद्यालयले सयौँजनाको उपस्थितिमा बाजागाजा र
अविरमालासहित सम्मान गरेको छ ।
विदेशमा बस्ने
विद्यार्थीहरुको सहयोगले विद्यार्थीको पठनपाठनमा
महत्वपूर्ण सहयोग मिलेको बताउँदै यसबाट समाजले
नयाँ पाठ सिक्नुपर्ने विद्यालयका प्रद्यानाध्यापक
रामप्रसाद नेपालले बताउनुभयो । दुःखसुख गरेर विदेशमा
पढ्ने विद्यार्थीहरुले खाजाबाटसमेत कटाएर संकलित रकमले
नेपालको शिक्षामा खर्चिएर देशप्रेमको भावनालाई सबैले
अनुसरण गर्नुपर्ने समाजसेवी तथा युवा नेता माधवकुमार
गजुरेलले बताउनुभयो ।