गज़ल :By, कोमल भट्ट
भवसागर रैछ जीवन,तर्न गाह्रो भो
बाँच्न पनि सकिएन,मर्न गाह्रो भो ll
वेदनाले हृदयमा,पोल्छ भतभती
आँसु सुक्यो गह भित्रै,झर्न गाह्रो भो ll
बाध्यताले घेरेको छ,घुम्दै फनफनी
समस्याको निराकरण,गर्न गाह्रो भो ll
नियतिले खोस्यो सबै,हाँसो खुसी नै
विधाताको प्यारो नजर,पर्न गाह्रो भो ll
छोपी दियो बादलुले,चाँद तारालाई
आँगनीमा ज्योतिपुञ्ज,छर्न गाह्रो भो ll
पेली रहे भोक,प्यास,शीत तापले
जीर्ण हुँदै थाक्यो शरीर,चर्न गाह्रो भो ll
डस्न थाले नानाथरी,रोग व्याधीले
पीडादायी ग्रह दशा,टर्न गाह्रो भो ll
सद्भावका बोटहरू,गए ओइलाउँदै
जति चोटी रोपे पनि,सर्न गाह्रो भो ll
बेइमानीले ढाकी सक्यो,सबै क्षेत्रमा
इमान्दारले आफ्नो पेट,भर्न गाह्रो भो ll
दादागिरी चल्छ सधैँ,टाठाबाठाकै
जिन्दगीमा 'कोमल' रूप,धर्न गाह्रो भो ll
कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका