सिद्धि साउन ८,
होमनाथ सापकोटा : चितवनको पहाडी गाविस सिद्धिका भूकम्प पिडित चेपाङहरुलाई आज
जस्तापाता वितरण गरिएको छ । सपना भिलेज सोसियल इम्प्याक्ट सौराहाले
पहिलो चरणमा १० घर परिवारलाई २ बण्डलका दरले १० फुटे जस्ता वितरण
गरिएको सोसियल इम्प्याक्टका अध्यक्ष धु्रव गिरीले जानकारी दिनुभयो ।
सिद्धि गाविस वडा नं.५ चेउराङका भूकम्पले घर पूर्ण रुपमा क्षति भएका
परिवारलाई गाविस र जिल्ला दैवि प्रकोप उद्धार समितिको सिफारिसका आधारमा
जस्ता वितरण गरिएको अध्यक्ष गिरीले बताउनुभयो । सोसियल इम्प्याक्टले
सिद्धि वडा नं.८ नान्दारका १५ घर परिवार भूकम्प पिडित चेपाङहरुलाई
आगामी शनिवार जस्ता वितरण गरिने इम्प्याक्टका म्यानेजर सुजन बस्नेतले
बताउनुभयो ।
बैशाख १२ गते आएको भूकम्प पछि इम्प्याक्टले सिद्धि
गाविसका सबै ६७४ घर परिवारलाई खाद्यान्न राहात वितरण गर्नुका साथै
भत्किएका सबै विद्यालयहरु पुनर्निमाण गरिरहेको छ । इम्प्याक्टले सिद्धि
गाविसमा विगत लामो समय देखि शिक्षा,स्वास्थ्य,आयआर्जन एवम् सामाजिक
रुपान्तरणको लागि उल्लेखनिय काम गरिरहेको गामवेसीको चेपाङ संरक्षण
केन्द्रका अध्यक्ष केपिकिरण शर्माले बताउनुभयो ।
सौराहा देखि सिद्धि सम्म
जस्तापाता ढुवानीको लागि सशस्त्र प्रहरी सिमा सुरक्षा बल आपटारीले यातायातको
व्यवस्था गरेको थियो । जस्तापाता वितरण कार्यक्रममा चेपाङ सहकारीका
अध्यक्ष महेन्द्र चेपाङ, नेपाली काँग्रेसका यामप्रसाद चेपाङ, एमालेका
दामाराम चेपाङ,एमाओवादी सिद्धि गाउँ कमिटीका इन्चार्ज गयासिंह चेपाङ
लगायतको सहभागिता रहेको थियो ।