गज़ल: By, कोमल भट्ट
सबै मिली खुसी भरौँ,नेपालीको आँगनमा
सद्प्रेम र शान्ति छरौँ,नेपालीको आँगनमा ll
एकताले मात्रै हुन्छ,विपत्तिको सामना यो
मैत्रीभावले अघि सरौं,नेपालीको आँगनमा ll
रोएको छ मेची-काली,भाइचारा खोज्दै ऐले
सँगै बाँचौं सँगै मरौं,नेपालीको आँगनमा ll
थोपा थोपा गरेर नै,बन्न सक्छ समुन्द्र त्यो
जति सक्दो मदत गरौं,नेपालीको आँगनमा ll
जुटौं अब निर्माणमा,हाते मालो गर्दै हामी
बिघ्न,बाधा,कष्ट हरौं,नेपालीको आँगनमा ll
देश दुख्दा मुटु दुख्छ,राष्ट्रप्रेमी सम्पूर्णको
हाँसो ल्याउन लागी परौं,नेपालीको आँगनमा ll
कोही हुन्न जननी र जन्मभूमि भन्दा ठूलो
त्यहीँ फुलौँ त्यहीँ झरौँ,नेपालीको आँगनमा ll
कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:- न्युयोर्क,अमेरिका
© @ komalpbhatta@yahoo.com