काठमाडौं बैशाख २४,
विनाशकारी भूकम्पको घाइतेका उपचारका लागि आवश्यक पर्ने विभिन्न समूहका रगत केन्द्रीय रक्तसञ्चार सेवा केन्द्र र केन्द्रअन्तर्गतका जिल्ला शाखामा पर्याप्त मात्रामा रहेको केन्द्रले जनाएको छ ।
केन्द्रका प्रशासकीय अधिकृत जीवनतारा भट्टका अनुसार केन्द्रमा करिब एक हजार तथा घाइतेको उपचार भइराखेका उपत्यकाभित्र ट्रमा सेन्टर, त्रिभुवन शिक्षण अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, नेपाल मेडिकल कलेज जोरपाटी, पाटन अस्पताललगायतका अस्पतालमा ५०० युनिट रगत सञ्चित रहेका छन् ।
गत शनिबारदेखि हालसम्म केन्द्रमा मात्र करिब चार हजार युनिट रगत सङ्कलन भएको र तीमध्ये तीन हजार युनिट रगत अस्पतालले लगेको उनले बताए । भूकम्पका घाइतेको उपचारका लागि केन्द्रले निःशुल्क रुपमा रगत उपलब्ध गराएको छ ।
अति प्रभावित १४ र प्रभावित ३१ जिल्लामा रहेका रेडक्रस सोसाइटीअन्तर्गतका रक्तसञ्चार केन्द्रमा पनि रगत सञ्चित रहेको छ । ‘यो विपत्तिमा परी घाइते भएकाको उपचारका लागि आवश्यक पर्ने रगत अन्य देशबाट ल्याउनुपर्ने अवस्था छैन र ल्याउँदैनौं’– अधिकृत भट्टले भने ।
आफ्नै रक्तसञ्चार सेवा केन्द्र (ब्लड बैंक) रहेका अस्पतालले पनि आन्तरिक रक्तदानको कार्यक्रम सञ्चालन गर्दै रगतको जोहो गरिरहेका छन् । खासगरी अस्पतालमा ‘कोल्ड चेन मेन्टिनेन्स’ उपकरण नहुँदा केन्द्रीय रक्तसञ्चार सेवा केन्द्रमा रगतको माग बढ्ने गरेको हो ।
केन्द्रले अगामी दिनमा रगतको अभाव हुन नदिनका लागि स्वयम्सेवी रक्तदातालाई पनि तयारी अवस्थामा राखेको छ । यस्तो अवस्थामा तीन हजार स्वयम्सेवी रक्तदाता रहेका छन् । रासस