चलचित्र 'पाइरेट्स अफ दी क्यारिबियन'को पाँचौं शृंखलाको छायांकनका लागि अस्ट्रेलिया पुगेका विश्वविख्यात हलिउड अभिनेता जोनी डिपले आफूसँगै ल्याएका दुईवटा कुकुरलाई प्लेन चार्टर गरी अमेरिका फर्काएका छन्।
गैरकानुनी रूपमा दुई पाल्तु कुकुर ल्याएको भन्दै अस्ट्रेलियाली सरकारले तोकिएको समयभित्र देशबाहिर नलगे गोली हानेर मार्ने धम्की दिएपछि अभिनेता डिपले प्लेन चार्टर गरेर आफ्ना कुकुर अमेरिका फिर्ता पठाएका हुन्। अस्ट्रेलियाली सरकारले उनलाई आइतबारसम्मको समय दिएको बताइएको छ।
स्रोतका अनुसार पिस्टोल र बु नामका ती कुकुर अस्ट्रेलियाली सरकारलाई जानकारी नगराई ल्याएको र त्यहाँको जैविक सुरक्षाको प्रक्रियालाई समेत बेवास्ता गरेकाले तोकेको समयसीमाभित्र देशबाहिर नलगे मारिदिने चेतावनी बिहीबार दिएको थियो।