गजल By, कोमल भट्ट
आमा ! तिम्रो,याद आएर रोएँ
छल्क्यो माया,आँसु झारेर रोएँ ll
वैभवशाली,ठान्दथें पास बस्दा
छोड्यौ चाँडै,चित्त फाटेर रोएँ ll
छोरा छोरी,मात्र सोच्यौ सधैँ नै
बिर्स्यौ आफू,त्याग देखेर रोएँ ll
खट्दै हाम्रो,जिन्दगानी सजायौ
बाटो लाग्यौ,साथ खोजेर रोएँ ll
पाल्यौ पोष्यौ,प्रेमधारा बहायौ
चोखो श्रद्धा,भक्ति अर्पेर रोएँ ll
माता जस्तो,हुन्न कोही धरामा
खोटो आफ्नो,कर्म सम्झेर रोएँ ll
जन्मौं तिम्रो,कोखमा बारबारै
आशा राखी,हात जोडेर रोएँ ll
४ अक्षरमा विश्राम
(शालिनी छन्द )
कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका
(माता तिर्थे औंशी,२०७२)