वीरेन्द्रनगर बैशाख ६,
सुर्खेतको अवलचिङ गाविसमा निर्माण सुरु भएको प्राथमिक स्वास्थ्य केन्द्रको भवन तीन वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन ।
गत वर्षमै निर्माण सम्पन्न भइसक्नुपर्ने सो भवन ठेकेदारको लापर्बाहीका कारण निर्माण सम्पन्न हुन नसकेको हो ।
विसं २०६९ मा ‘फ्रेन्ड्स कन्स्ट्रक्सन प्रालि काठमाडौँ’ले दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी रु तीन करोडमा निर्माणको जिम्मा लिएको थियो । अहिलेसम्म ७० प्रतिशतमात्रै काम सकिएको छ ।
ठेकेदार र कामदारले काम गर्न छाडेपछि भवन नै अलपत्र परेकोे स्थानीयवासी बताउँछन् । पुरानो साँघुरो भवनबाट प्रभावकारी सेवा नपाएको गुनासो उनीहरुको छ ।
भवन नबन्दा स्वास्थ्य सेवा लिन आउनेलाई असहज भएको छ” अवलचिङ–२ सिस्नेलका नन्दरी रानाले भने ।
साँघुरो कोठामा रहेको बर्थिङ सेन्टर प्रभावकारी नहुँदा गर्भवती महिलालाई घरमै सुत्केरी गराउनुपर्ने अवस्था छ । स्वास्थ्य केन्द्रमा दरबन्दी अनुसार डाक्टर नहुँदा बिरामीले जेनतेन पैसा जुटाएर सदरमुकामस्थित क्षेत्रीय अस्पताल जाने गरेका छन् ।
अवलचिङ–२ कै रमा रानाले स्वास्थ्य केन्द्रमा भवन र डाक्टरको अभावलगायतका समस्याले चार छोरी र एक छोरालाई आफूले घरमै जन्म दिएको बताए । “बुहारीलाई समेत सुत्केरी गराउन क्षेत्रीय अस्पताल गए” उनले भने ।
प्राथमिक स्वास्थ्य केन्द्रका इन्चार्ज एवम् स्वास्थ्य सहायक अशोक कार्कीले ठेकेदारको लापर्बाहीका कारण ढलान, प्लास्टर र रङ्रोगनलगायतको काम अधुरै रहेको बताए भवन नबन्दा सुत्केरीलगायतका स्वास्थ्य सेवा दिन समस्या हुने गरेको उनले बताए ।
उनका अनुसार स्वास्थ्य केन्द्रलाई भवनको मात्रै नभएर डाक्टरको पनि ठूलो समस्या भएको छ । दरबन्दी भएर पनि डाक्टर नबस्दा गम्भीर रोगका बिरामीलाई क्षेत्रीय अस्पताल पठाउनुपरेको उनले सुनाए । ११ जना स्वास्थ्यकर्मी दरबन्दी रहेको केन्द्रमा अहिले स्वास्थ्य सहायक दुई जना, अहेब र अनमी एक–एक जना, स्टाफनर्स दुई जना र कार्यालय सहयोगी दुई जना कार्यरत छन् । रासस
: