कविता '' नयाँ क्यालेण्डर र म ''
एउटा पुरानो घरको भित्ता
माटो उप्किएर
छिद्र छिद्र भएको छ
मेरो मन जस्तै ।
आजै मात्र किनेर ल्याएको
एउटा नयाँ क्यालेण्डर
तुर्लुङग झुण्डिएको छ
त्यो भित्तामा ।
जसरी
मैले मेरो पुरानो
कोटको अगाडिको खल्तिमा
नयाँ रुमाल झुण्ड्याउछु ।
पहिलो महिना बैशाख
पल्टाउछु र झुण्ड्याउछु
त्यही भित्तोमा ।
जुन भित्तोमा
मेरो बुवाले पनि
क्यालेण्डर झुण्ड्याउने गर्नुहुन्थ्यो ।
प्रेत्येक् महिनामा
केही राता अंकहरु छन ।
शनिबारका दिनहरु
चाडबाडका दिनहरु
र अन्य उत्सबिला दिनहरु ।
मलाई ति राता अंकहरुसँग
कुनै चासो छैन
न त काला अंकहरुसँग नै ।
मलाई ति राता अंकहरु
ताता लाग्दछन र पोल्दछन ।
बिना अनुमति
क्यालेण्डरमा आउछन
शनिबारहरु, चाडबाडहरु र जान्छन् ।
आभास गर्नै नपाई ।
मेरो क्यालेण्डरले नै मनाउछ
दसैं तिहार र माघे संक्रान्ती ।
म भन्दा क्यालेण्डर भाग्यमानी छ ।
उ प्रत्येक् महिना फेरिन्छ
नयाँ लुगा लगाउछ
मैलिन नपाउदै ।
म बुवाले छोडेर जानुभएको
त्यही पुरानो कोट लगाउदै
चुहिने घरको छानो हेर्दै
क्यालेण्डरको पाना पल्टाइरहन्छु
फेरिरहन्छु प्रत्येक् महिना ।
श्रीराम अधिकारि
मकवानपुर हेटौडा , हाल इज़रायल