रत्ननगर, ११ बैशाख
शिशिर सिंखडा : पूर्वी चितवनको जुटपानी ४, सगुनटोलमा रहेको क्याम्पाढाप
खानेपानी आयोजनाको लागि डिप बोरिङको आज एक कार्यक्रमका
बीच सिलान्यास गरिएको छ ।
संविधान सभाका समानुपातिक सभासद एवं
नेकपा एमालेका पोलिटब्यूरो सदस्य काशिनाथ अधिकारीले सो डिप
बोरिङको सिलान्यास गर्नुभएको हो । निर्वाचन क्षेत्र विकास कोष
अन्तर्गतको १५ लाख मध्ये अधिकारीले सो खानेपानीको बोरिङ
निर्माणको लागि ४ लाख रुपैया सहयोग गर्नुभएको थियो ।
कार्यक्रममा सभासद अधिकारीले जनताको स्वच्छ खानेपानी खान पाउनु
उनीहरुको अधिकार भएको भन्दै जनताका जस्तो सुकै समस्यामा
समाधान गर्न आफू लागि पर्ने बताउनुभयो । उहाँले अब आर्थिक
विकासको लागि जनता जुर्मुराउनु पर्ने भन्दै जनतालाई संविधान दिन
नेकपा एमाले प्रतिबद्ध रहेको समेत बताउनुभयो ।
कार्यक्रममा नेकपा
एमालेका जिल्ला कमिटि सदस्य विनोद रेग्मीले नेताहरु जनमुखी
हुनुपर्नेमा जोड दिँदै एमालेका नेताहरु सधैँ जनताका पीर मर्का,
विकास कार्यमा साथमा रहेको बताउनुभयो । कार्यक्रममा नेपाली
काँग्रेस जुटपानीका सभापति कृष्ण बहादुर घिमिरे, एमाले जुटपानीका
अध्यक्ष कृष्ण लामा, क्याम्पाढाप खानेपानी आयोजनाका
उपभोक्ता गणेश दुवाडी, अमृत धारा खानेपानी तथा सरसफाई
उपभोक्ता समितिका अध्यक्ष बुद्धिराज लामा लगायतले मन्तव्य व्यक्त
गर्नुभएको थियो ।
आयोजनाका कार्यसमिति सदस्य मिन बहादुर घर्तीले
स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रम अध्यक्ष पूर्ण बहादुर
वाईबाको अध्यक्षतामा भएको थियो । सो खानेपानी बोरिङ सम्पन्न
भएपछि जुटपानी १ र ४ का करिब ६ सय घरधुरी लाभान्वित हुनेछन् ।
सो आयोजना पूरा गर्न करिब १४ लाख रुपैया लाग्ने बताईएको छ ।