एजेन्सी cचैत्र १३,
विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबार भएको सेमिफाइनल खेलमा आफ्नो टिम अस्ट्रेलियाबाट ९५ रनले पराजित भएपछि भारतीय फ्यान 'पागल' भएका छन् ।
उपाधि उचाल्ने अपेक्षामा रहेका भारतीय फ्यान आफ्नो टिम सेमिफाइनलमा नराम्ररी पराजित भएपछि रिसले आगो भएका हुन् । रिसले आगो भएका उनीहरुले बिहीबार साँझ क्रिकेट हेरिरहेकै टेलिभिजन सेटसमेत फुटाएका छन् ।
भारतीय टिमको हारपछि रिसले चुर भएका उनीहरुले टिभी सडकमा ल्याएर फुटाएनन् मात्र क्रिकेटरहरुको पोष्टर र पुत्ला समेत जलाउन भ्याए । उनीहरुले बिराट कोहलीकी प्रेमिका अनुष्का शर्माको समेत पोस्टर जलाएका छन् ।
भारतको हारपछि कानपुर र गोरखपुरमा क्रिकेट फ्यानहरु सडकमा निस्केर आफ्नो टिमबिरुद्द नाराबाजी गर्दै टिभी सेट फुटाएका हुन् । भारतका धेरै सहरमा क्रिकेट खेलाडीको पोष्टर, तस्बिर र पुत्ला जलाइरहेको खबर भारतीय सञ्चारमाध्यले सार्वजनिक गरिरहेका छन् ।
क्रिकेटरको घरमा सुरक्षा कडा
अस्ट्रेलियासँगको हारपछि भारतीय क्रिकेटरहरुको घरमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । कप्तान महेन्द्रसिंह धोनीको राँचीस्थित घर र अन्य खेलाडीको घरमा सुरक्षाव्यवस्था कडा गरिएको हो ।
कप्तान महेन्द्र सिंह धोनीको घरबाहिर कमाण्डो फोर्स तैनाथ गरिएको छ । मुम्बई पुलिसले रोहित शर्माको घर बाहिर कडा सुरक्षा दिइरहेको छ ।
खेलमा चार विकेट लिने बलर उमेश यादवका बाबु तिलक यादवसँग पत्रकारले प्रश्न गरे, के तपाइँ मान्नुहुन्छ, तपाइँको छोराले राम्रो खेल्यो ?', जवाफमा उनले भने, 'कस्तो राम्रो खेल्यो ? जब कि भारतीय टिम पराजित भयो ।'