गज़ल : By, कोमल भट्ट
त्यो मुटुमा सजाए,देख्छु म प्यार पक्कै
ढुकढुक ती सुनाए,बुझ्छु विचार पक्कै
पाउन साथ तिम्रो,लिन्छु हजार जन्म
प्रीति छिटो लगाए,नाघ्छु जँघार पक्कै
जीवन बित्न लाग्यो,हुन्छ कि भेट भन्दा
नाउँ पता बताए,हिँड्छु सखार पक्कै
के भर जिन्दगीको,भोलि कता पुगिन्छ
निश्चय पास आए,छर्छु बहार पक्कै
आँसु बलिन्द्र झार्दै,कुर्छु अझै म बाटो
चाँद बनी उदाए,सोच्छु अपार पक्कै
देख्छु अनेक स्वप्ना,रम्छु सगर पुगेर
निश्छल भै हँसाए,भेट्छु किनार पक्कै
बोल्दिन झूट कैल्यै,गर्छु पवित्र माया '
कोमल' हात पाए,हुन्छु कुमार पक्कै
विश्राम – ७ अक्षरमा
कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:- न्युयोर्क,यु एस ए