उमा श्रेष्ठ : फेसन डिजाइनर :
चाबहिलकी उमा श्रेष्ठ फेसन डिजाइनर हुन् । उनी रुचिले फेसन डिजाइनर बनेकी होइनन्, आमाको पेसालाई सहयोग गर्दागर्दै डिजाइनर र प्रशिक्षक बनेकी हुन् । सिजनअनुसारको पोसाक तयार गर्नुका साथै उमा सिलाइ–बुनाइको तालिम पनि दिन्छिन् । उनले उत्पादन गरेको जनशक्ति गाउँगाउँमा गएर आत्मनिर्भर बनेका छन् । प्रशिक्षण र डिजाइनमा रमाइरहेकी उमासँग कुमार राउतले गरेको कुराकानी ः
० फेसन डिजाइनर पेसा के हो ?
– समय र वस्तुस्थितिलाई मूल्यांकन गरेर आकर्षक पोसाक निर्माण गर्नु फेसन डिजाइन हो जस्तो लाग्छ । व्यक्तिको शरीरलाई मूल्यांकन गरेर कुन पोसाकले उसलाई आकर्षक देखिन्छ, त्यो डिजाइनरले तयार गर्छ ।
० व्यवसाय कस्तो छ ?
– पछिल्लो समयमा युवाहरूको यो पेसाप्रति आकर्षण बढेको छ । आकर्षणसँगै प्रतिस्पर्धा पनि बढेको छ । प्रतिस्पर्धाले नै गुणस्तर बढाउने हो ।
० फेसन डिजाइनप्रति के कुराले आकर्षित ग¥यो ?
– यो पेसाप्रति खासै रुचि थिएन, यद्यपि आमालाई सहयोग गर्दागर्दै व्यावसायिक डिजाइनर बनिसकिछु । यसका लागि शिक्षाभन्दा पनि अभ्यास बढी चाहिँदो रहेछ । फेसन डिजाइनको साथै महिलालाई सिलाइ–बुनाइको प्रशिक्षण पनि दिन्छु ।
० डिजाइन कलेजस्तरमा पढाइ हुन्छ, होइन र ?
– हो, नेपालमा अहिले दुईवटा कलेजबाट यस विषयमा उच्च शिक्षा हासिल गर्न सकिन्छ । म पनि सुरुमा व्यवस्थापनको विद्यार्थी थिएँ, पछि डिजाइनमा स्नातक गरें । व्यवसाय सम्हाल्न थालेपछि फुर्सद भएन, त्यसपछि अध्ययनलाई निरन्तरता दिन सकिनँ ।
० नयाँ पुस्ता कस्तो पाउनु भयो ?
– म पनि नयाँ पुस्ताकै हुँ, यद्यपि यो पेसामा भविष्य देख्ने नयाँ पुस्ता सिर्जनशील छन्, उनीहरूमा केही गरौं भन्ने भावना छ । सञ्चारमाध्यमले पनि यो व्यवसायलाई प्रमोसन गरिरहेका छन् । नयाँ सिर्जनालाई आफ्नोपनमा रूपान्तरण गर्न नयाँ पुस्ता उत्सुक भएको मैले पाएकी छु ।
० बढी केको माग आउँछ ?
– सिजनअनुसार माग हुन्छ, विवाहको सिजनमा हामी बढी व्यस्त हुन्छौं । प्लेन साडी ल्याएर मोडिफाई गर्नेदेखि लिएर कुर्ता, सारी र टप्सहरूको माग बढी आउँछ ।
० मोडिफाई सामग्रीको मूल्य कति पर्छ ?
– ठ्याक्कै मूल्य भन्न कठिन हुन्छ, न्यूनतम बीस हजारबाट सुरु हुन्छ । मूल्य धेरैजस्तो लागे पनि यसका लागि धेरै मेहनत परेको हुन्छ ।
० यति महँगो किन्ने नेपालीको क्षमता छ ?
– लगाउन रहर गर्नेले आम्दानी गर्नुपर्छ, क्षमता त आफंैले वृद्धि गर्ने हो । क्रयशक्ति छैन भनेर त्यसै बस्नु भएन नि ।
० अहिलेसम्म कतिलाई तालिम दिनुभयो ?
– धेरैलाई दिइयो, त्यसको हिसाब–किताब मैले राखेको छैन । जतिले मबाट तालिम लिए, उनीहरू स्वरोजगार बनेका छन् । यहाँ सिकेर गाउँगाउँमा जाने र व्यवसाय सञ्चालन गर्ने धेरै छन् । महिलालाई आत्मनिर्भर बनाउन पाउँदा आत्मसन्तुष्टि त हुन्छ नै, साथसाथै देशको अर्थतन्त्रमा समेत योगदान पुगेको छ ।
० तालिमका लागि कस्ताले प्राथमिकता पाउँछन् ?
– पहिले त इच्छाशक्ति हुनुपर्छ । शिक्षा कम भएका महिलाहरूका लागि यो पेसा सजिलो र नियमित आयस्रोत हुने माध्यम हो ।
० प्रशिक्षण कति समय चल्छ ?
– दैनिक तीन सिफ्टमा कक्षा सञ्चालन हुन्छ, एक सिफ्टमा दसजनाले प्रशिक्षण लिन्छन् ।
० कोर्ष पूरा गर्न कति लाग्छ ?
– बेसिक, स्पेसल र एड्भान्स गरी हामी तीन तहको प्रशिक्षण दिन्छौं । बेसिक कोर्ष पूरा गरेकाले मात्रै व्यवसाय सञ्चालन गर्न सक्छन् । विशेष र एड्भान्स कोर्ष पूरा गरेकाहरूले सञ्चालन गरेको व्यवसाय राम्रोसँग चलेको छ ।
० आफ्ना सिर्जनाहरू प्रदर्शनी पनि गर्नुभएको छ ?
– व्यक्तिगत रूपमा प्रदर्शन गरेकी छैन, तर समय समयमा हुने प्रदर्शनीमा भने सहभागी भएकी छु । तारे होटलमा आयोजना हुने त्यस्ता प्रदर्शनीमा मेरो सिर्जनाले पनि प्रशंसा पाएको छ । विशेष गरी सुन्दरी प्रतियोगिताका लागि ड्रेस अर्डर आउँछ । मिस टिनका लागि मैले धेरैपटक पोसाक सप्लाई गरिसके ।
० अवार्ड पनि पाउनुभएको छ ?
– यो अवार्ड त आयोजकले आफ्ना मान्छेलाई मात्र दिन्छन् जस्तो लाग्न थाल्यो । आफूले पाएर मैले त्यसो भनेकी होइन, अनुभव सुनाएको मात्र हुँ ।
० परिवारका सबै यही पेसामा ?
– आमाले सुरु गर्नुभएको यो पेसामा हामी तीन दिदीबहिनी संलग्न छौं । दाजुको हार्डवेयर पसल छ ।
० विवाह गर्नुभयो ?
– छैन, पेसामै व्यस्त भइयो, त्यतातिर सोच्नै पाइएको छैन ।
० विवाहका लागि सोच्न समय लाग्छ र ?
– विवाह भन्ने कुरो आफैंले सोचेर मात्र हुँदो रहेनछ । सबै कुरा मिलेर आउनुपर्नेरहेछ ।
० स्कुल कलेज पढ्दा लभ परेन ?
– लभ त किन नपर्नू, धेरै परे, तर आफूले खोजेजस्तोसँग संयोगले होला अहिलेसम्म भेट भएको छैन ।
० कस्तो खोज्नुभएको हो ?
– त्यो चाहिँ भेटिएपछि मात्र भनौंला । विवाह, मृत्यु मान्छेको हातमा हुँदो रहेनछ, त्यसैले यस्तो भन्नलाई अप्ठ्यारो छ ।
० मनको राजाको कल्पना गर्नुभएको होला नि ?
– आफंैले मात्र गर्न चाहेर नहुने रहेछ, त्यसैले सबै कुरा जुर्नुपर्ने रहेछ । अहिलेसम्म जुरेको छैन, यदि भेटियो भने मनको राजासँग दाँजुला ।
० अब के गर्नुहुन्छ ?
– जानेको सिकेको पेसा यही हो, यसलाई समय परिस्थिति र वस्तुअवस्थाअनुसार बदल्दै लैजान र ठूलो बनाउने सोच बनाएको छु ।
((स्रोत-नेपालब्रिटेन))