गाईघाट (उदयपुर) माघ ३,
मानवअधिकार र वातावरण विकास केन्द्र (हुरेन्डेक) उदयपुरले सुरक्षित गर्भपतनसम्बन्धी सेवा दिने तयारीसहित यहाँ सञ्चालित तालिम सम्पन्न भएको छ ।
जिल्लाको बेल्टार बसाहा नगरपालिका तथा मध्य पहाडी गाविस खाँबु, लाफागाउँ, ताम्लिछा र अर्को रामपुर गाविसमा सुरक्षित गर्भपतनसम्बन्धी एकहप्ते तालिम सञ्चालन गरेको हुरेन्डेकका अध्यक्ष दुर्गाकुमार थापाले बताए ।
नचाहेको वा अनिच्छित गर्भ रहन गएमा र फाल्न परेमा स्थानीयस्तरमा नै औषधि प्रयोग गरेर नौ हप्तासम्मको गर्भ फाल्न सकिने आधारमा तालिम प्रदान गरिएको आयोजक हुरेन्डेकले बताएको छ ।
तालिम प्राप्त महिला तथा स्वयम्सेविकालाई जिल्ला अस्पताल उदयपुरका वरिष्ठ चिकित्सक चुमनलाल दासले प्रमाणपत्र प्रदान गरे ।
गाउँघरमा नचाहँदानचाहँदै अनिच्छुक तरिकाले गर्भ रहन गएमा यस्तो प्रविधिबाट सामान्य रुपमा नै गर्भपतन गराउन सकिने हुनाले पनि सो सेवा ग्रामीण महिलाका लागि बढी प्रभावकारी हुने जिल्ला अस्पतालका प्रमुख चिकित्सक चुमनलाल दासले बताए । रासस :