महिलाहरु बेचिनुमा आफन्त संलग्न I

नुवाकोट, १३ मङ्सिर,

नुवाकोट जिल्लाबाट हुँदै आएको महिला बिक्रीको घटनामा आफन्तहरुकै संलग्नता रहने गरेको पाइएको छ । महिला बिक्रीमा तामाङ समुदाय र दलित समुदायका महिला प्रायः पर्दै आएका छन् । 

महिला बिक्रीमा ८० प्रतिशत घरपरिवार र आफन्तको संलग्नता रहने गरेको महिला अधिकारको क्षेत्रमा काम गर्दै आएको गैरसरकारी संस्था कोसेली नेपालले जनाएको छ । आफन्तकै संलग्नतामा बिक्री हुने गरेको र भारतमा आफ्नै कोठी रहने भएकाले पनि अपराधीहरु कानुनी दायरामा ल्याउन नसकिएको कोसेली नेपालका अध्यक्ष अस्मिता थापाले बताउनुभयो । 

महिला बिक्री भएको जानकारी रहँदा पनि पीडित पक्षले कानुनी कारबाहीका लागि उदासीनता देखाएका कारणले समस्या भएको थापा बताउनुहुन्छ । नुवाकोट जिल्लाको उत्तरपर्ूर्वी भेगका घ्याङ्फेदी, उर्लेनी, बेतिनी, बालकुमारी, गाउर्ँखर्क, शिखरबेँसी, रालुकादेवी गाउँ विकास समितिका महिला बढी बिक्री हुँदै आएका छन् । 

पहिलेजस्तो सिधै बिक्रीका लागि सडक मार्गबाट भारत नलगी विभिन्न रोजगारीका नाममा महिला बिक्रीका घटना बढेको छ । वैदेशिक रोजगारीका लागि राहदानी बनाएर हवाईमार्ग मार्फ भारत लगेर महिलाको बिक्री हुन थालेको छ । अहिलेसम्म कम्तीमा ५० हजारभन्दा बढी महिला यौन बजारमा बिक्री भएको अनौपचारिक तथ्याङ्क रहेको छ । सरकारले महिला बिक्री रोकथामका लागि प्रभावकारी रुपमा रोजगारमूलक कार्यक्रम र योजना लागू नगर्दा बिक्रीमा कमी आएको छैन । रासस:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com