स्वर्गीय डा डङ्गोलका दुईवटै आँखा, आँखा नदेख्ने व्यक्तिमा सफल प्रत्यारोपण I

काठमाडौँ, १२ मङ्सिर,

मरणोपरान्त आँखा दान गरेका बौद्ध विद्वान स्वर्गीय डा सानुभाइ डङ्गोलका दुईवटै आँखाको नानी अन्य आँखा नदेख्ने व्यक्तिमा सफल प्रत्यारोपण गरिएको छ ।

मध्यपुर थिमि नगदेशस्थित बुद्धविहारका सचिव कृष्णकुमार प्रजापतिका अनुसार परिवारको सहमतिमा तिलगङ्गा आँखा प्रतिष्ठानका प्राविधिकहरुको सहयोगमा उहाँका आँखाको नानी निकाली अन्य व्यक्तिलाई प्रत्यारोपण गरिएको हो ।

उनका अनुसार आँखाको नानीलाई भैरहवा आँखा अस्पतालमा पु¥याई एउटा नानी भारतको नौतनवा निवासी ३२ वर्षीय ‘मण्डल’ थरका युवक र अर्को नानी भारतकै महाराजगन्ज निवासी ५८ वर्षीया ‘शुक्ला’ थरकी महिलामा सफल प्रत्यारोपण गरिएको छ । करिब ३५ वर्ष राजदरबारमा सेवा गरी विसं २०५० वैशाख १ बाट सेवा निवृत्त हुनुभएका डा डङ्गोलको यही मङ्सिर ९ गते निधन भएको थियो ।

 सरस्वती क्याम्पस, त्रिविवि बौद्ध अध्ययन विभाग, लुम्बिनी बौद्ध विश्वविद्यालयलगायतमा लामो समय अध्यापन गराउनुभएका स्व. डङ्गोलको ‘नेपाली राजनीतिमा दरबार’, ‘बौद्ध इतिहासका केही पृष्ठहरु’, ‘बुद्धधर्ममा देखापरेका विकृति र विचलनहरु सम्बन्धमा एक अध्ययन’, लगायत एक दर्जन पुस्तक प्रकाशित छन् । रासस:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com