बुटवल आश्विन ५,
नेपाल चिकित्सक सङ्घ लुम्बिनी अञ्चल शाखाको आयोजनामा बुटवलमा कन्टिन्यू मेडिकल एजुकेसनल कार्यक्रम सम्पन्न भएको छ ।
चिकित्सा क्षेत्रमा काम गरी रहेका चिकित्सकलाई चिकित्सकीय क्षेत्रमा भइरहेको प्रगति र नयाँ गाइड लाइनबारे जानकारी गराउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको चिकित्सक सङ्घ लुम्बिनी अञ्चल शाखाले जनाएको छ ।
कार्यक्रम संयोजक डा राजेन्द्र खनालले यस्ता कार्यक्रमहरुले चिकित्सकहरुको क्षमता अभिवृद्धि गर्न र नयाँ आविष्कार तथा गाइडलाइनबारे जान्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।
कार्यक्रमको सहजीकरण गर्दै गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका निर्देशक वरिष्ठ मुटुरोग विशेषज्ञ डा समिर गौतमले जेएनसी गाइडलाइनले उच्च रक्तचापका बिरामीको नयाँ उपचार विधि, बिरामीको जाँचबुझ र उपचारमा गरिएको परिवर्तन र आविष्कारबारे जानकारी गराएका छन् ।
नेपाल चिकित्सक सङ्घका केन्द्रीय सदस्य डा प्रकाश बुढाथोकी, अञ्चल उपाध्यक्ष डा विनोद पराजुलीलगायतले सङ्घ चिकित्सकहरुका समस्या समाधानमा हातेमालो गरेर अगाडि बढिरहेको बताए ।
उनीहरुले चिकित्सकहरुलाई सङ्घमा आबद्ध हुन आह्वान गर्दै समस्या परेपछि निकासका लागि छटपटाउनुभन्दा समस्या नआउँदै गम्भीर भएर सोच्न चिकित्सकहरुलाई आग्रह गरेका थिए । रासस: