सर्लाहीको सरकारी अस्पताल आफैं बिरामी अवस्थामा I

सर्लाही, १८ भदौ ,

पर्याप्त चिकित्सक नहुँदा बिरामीको उपचार गर्ने सर्लाहीको सदरमुकाम मलङ्गवास्थित पुरानो एवम् सरकारी अस्पताल आफँै थलिने अवस्थामा पुगेको छ । कम्तीमा पाँच चिकित्सक हुनुपर्ने अस्पतालमा पाँच–छ महिनादेखि दुई चिकित्सक मात्र कार्यरत छन् । 

‘विगत पाँच/छ महिनादेखि अस्पतालमा दुईजना मात्र चिकित्सक छन्’ –हाल सर्लाही अस्पतालको प्रमुखका रूपमा कार्यभारसमेत सम्हालिरहेका चिकित्सक प्रल्हाद अधिकारीले भने, ‘जिल्ला अस्पतालमा कम्तीमा पनि पाँच चिकित्सक हुनुपर्ने हो ।’ अस्पतालमा दैनिक ओपिडीमा सय, आकस्मिक २०–२५, प्रसूतिमा चार–पाँच, सर्पदंश लगायतका बिरामीको चाप रहने भएकाले दुई मात्र चिकित्सक हुँदा उपचार सेवाका लागि निकै समस्या परिरहेको चिकित्सक अधिकारीको कथन छ । 

दुईवर्षे करारमा स्वास्थ्य मन्त्रालयबाट नियुक्ति लिई सर्लाही अस्पतालमा खटिएका अधिकारी र अर्को एक चिकित्सकको करार सकिन एक महिना मात्र बाँकी छ । केही दिनअघि आएका तीनजना चिकित्सक एक दिन पनि नबसी मन्त्रालयको नियुक्तिपत्र बुझाएर मात्र फर्किएको चिकित्सक अधिकारीले बताए । ‘गत भदौ ११ गते दुई तथा भदौ १३ गते एक चिकित्सक हाजिर हुन आउनुभयो र हाजिर भएकै दिन फर्कनुभएका उहाँहरू फेरि फर्कनु भएको छैन’ अधिकारीले भने । 

पन्ध श्ययाको अस्पतालले ५५ श्ययाको स्वीकृतिसमेत पाइसकेको र त्यसका लागि पूर्वाधार निर्माणको काम भइरहेको छ । १५ श्ययाको अस्पताल हुँदा कम्तीमा पाँच चिकित्सक तथा ५० श्यया क्षमताको हुँदा १५ जना चिकित्सक हुनुपर्ने जानकार बताउँछन् । गत मङ्सिर महिनादेखि सर्लाही अस्पतालमा स्थायी दरबन्दीका चिकित्सक नआएको जानकारी उनले दिए । प्रचलनअनुसार स्थायी दरबन्दीका चिकित्सक मेडिकल सुपरिटेन्डेन्ट (प्रमुख) हुनुपर्ने भए पनि १० महिनादेखि सर्लाही अस्पतालले त्यस्तो प्रमुख पाउन सकेको छैन ।

सर्लाही अस्पतालमा पर्याप्त चिकित्सक ल्याउनका लागि आफूले स्वास्थ्य मन्त्रालयलगायत सरोकारवाला विभिन्न निकायमा प्रयास गरिरहेको प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद पोखरेलले बताउनुभयो । ‘सर्लाही अस्पताललाई चिकित्सकीय एवम् भौतिक पूर्वाधारको हिसाबले सुविधा सम्पन्न बनाउनका लागि अथक प्रयास गरिरहेको छु’– प्रजिअ पोखरेलले भने । रासस :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com