फलेवास (पर्वत) आश्विन ३,
जिल्लामा परिवार नियोजनको अस्थायी साधनको प्रयोग गर्ने तथा सुरक्षित गर्भपतन गर्नेको सङ्ख्यामा कमी आएको छ ।
औषधि पसलबाटै आकम्मिक गर्भपतनका औषधि प्रयोग गर्नेको सङ्ख्या बढेपछि परिवार नियोजनका अस्थायी साधनको प्रयोग गर्ने र सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या घटेको हो ।
परिवार नियोजन दिवसको अवसरमा जिल्ला स्वास्थ्य कार्यालय पर्वतले परिवार नियोजन महिला तथा बालबालिकाको स्वास्थ्यको क्षेत्रमा काम गर्ने संस्थाको सहकार्यमा बिहीबार आयोजना गरेको कार्यक्रममा पछिल्लो समयमा गर्भधारण भएपछि आकस्मिक गर्भपतनका साधनको प्रयोग गर्नेको सङ्ख्या बढेको देखाइएको हो ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार पर्वतमा तीन वर्षपहिले पिल्स प्रयोग गर्नेको सङ्ख्या ५४६ रहेकामा अघिल्लो आव ४५५ र गएको आवमा ३७१ मा झरेको छ ।
यस्तै तीन वर्ष पहिले कण्डमको प्रयोग गर्नेकोे सङ्ख्या एक हजार २३५ रहेकामा गएको वर्ष थोरै मात्र बढेर एक हजार ३६७ पुगेको छ । तीनमहिने सुई लगाउनेको सङ्ख्या पनि तीन वर्ष पहिले ८८२ थियो भने अघिल्लो वर्ष बढेर २३१ पुगेको छ ।
सुरक्षित गर्भपतन गर्नेको सङ्ख्या तीन वर्ष पहिले एक हजार १०० रहेकामा अघिल्लो वर्ष घटेर जम्मा ६७१ पुगेको छ । यो तथ्याङ्क जिल्ला स्वास्थ्य कार्यालय मातहतका संस्थाको मात्र हो ।
यस्ता संस्थामा गर्भ निरोधका लागि अस्थायी साधनको प्रयोग नगर्ने तर गर्भधारण रोक्न ७२ घण्टे औषधिको प्रयोग गर्ने अत्यधिक मात्रामा बढेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख चिकित्सक नारायण ओझाले बताए । रासस: