नर्स राधा पौडेललाई मदन पुरस्कार I

काठमाडौं भाद्र ३० ,

साहित्य क्षेत्रको प्रतिष्ठित मदन पुरस्कार नर्स राधा पौडेललाई प्रदान गरिने भएको छ । नर्स पौडेलले तत्कालिन माओवादीले जुम्ला सदरमुकाम खलंगामा गरेको आक्रमणबारे लेखेको पुस्तक ‘खलंगामा हमला (एउटा नर्सको डायरी)’ लाई २०७० सालको मदन पुरस्कार दिने निर्णय भएको हो । 

हिजो बसेको मदनपुरस्कार गुठीको बैठकले पौडेललाई २ लाख राशीको मदन पुरस्कार दिने निर्णय गरेको हो । सुरक्षित मातृत्व कार्यक्रमका निम्ति जुम्ला जाँदा राधाले माओवादी र सेनाबीचको लडाईंको अनुभव गरेकी थिइन् । सोही अनुभवलाई समेटेर उनले पुस्तकाकार रुप दिएकी हुन् । 

को हुन राधा ? 
चितवनको गौरीगन्जमा बुबा देवीप्रसाद तथा आमा गंगामायाको कोखबाट जन्मिएकी हुन् राधा । सामान्य आर्थिक अवस्था भएको घरपरिवारमा जन्मिएकी राधा वि.सं. २०५१ मा नर्स बन्ने अभिलाषासहित राजधानी छिरेकी थिइन् । उनले अध्ययन सकेर भरतपुर अस्पतालमा काम गरेकी थिइन् । १ हजार ९ सय २० रुपैयाँ तलब थियो । जनशक्तिको अभाव थियो अस्पतालमा, त्यसैले २४ घण्टे ड्युटी गर्नुपर्ने बाध्यता थियो । बिरामीको पीडा देखेर राधा धेरै रोएकी छिन् । 

चार वर्ष भरतपुर अस्पतालमा बस्दा उनले धेरै दुःख देखिन् र भोगिन् । उनका बुबा २०१७ सालमा अञ्चलाधीशको भान्से भएर एकपटक जुम्ला गएका रहेछन् । जुम्ला बसेर आएका बुबाको मुखबाट सुनेको तितो यथार्थले उनको मन पोल्यो । दुःख, गरिबी र अभाव त त्यहाँ पो रहेछ भनेर राधा जुम्ला पुगिन् । जुम्लामा छँदा उनले मानिसको वास्तविक दुःख देखिन् । टुहुरा बालबालिकाको कहालीलाग्दो दुःख देखेर उनका आँखा धेरैपटक रसाए । जागिरका सिलसिलामा जुम्लामा रहँदा आफूले देखेका, भोगेका विषयलाई बाँड्न मन लाग्यो । अनि लेखिन्– खलंगामा हमला । 

खलंगामा माओवादी हमला भएको रात राधा आफ्नै कोठामा थिइन् । २०५९ सालमा भएको उक्त आक्रमण उनका लागि जीवनमा भोगेको भयानक घटना थियो । त्यो रात उनी मरेर बाँचिन् । कोठाका भित्तामा गोली बर्सिए, तर उनलाई अस्पताल जलाइदिए कि भनेर चिन्ता लागिरहयो । उनी रातभर सुतिनन् । बिहान उठ्दा उनले जुम्लाको सानो टँुडिखेलमा लासको ओइरो देखिन् । त्यसपछि जागिर छाडेर कर्णालीबाट बाहिरिन् अनि पुनः काठमाडौं आइन् । जुम्ला छाडिन् त कर्णाली बिर्सिन सकेकी छैनन् । उनले कर्णालीकै लागि काम गर्ने भनेर संस्था खोलिन्, तर संस्थालाई सहयोग प्राप्त भएन । जुम्ली भनेर धेरैले हेपे । उनले अहिले एक्सन वर्क नेपालमार्फत् जुम्लाका गरिब बालबालिकालाई शिक्षा प्रदान गरिरहेकी छिन् । 

जुम्ला तथा कालिकोटमा महिला सशक्तिकरण तथा जीविकोपार्जनका काम भैरहेका छन् । त्यतिमात्र होइन, उनकै पहलमा जुम्लामा सुत्केरी घर बनिरहेको छ । छाउपडी उन्मूलनका कार्यक्रमहरु पनि सञ्चालनमा छन् । उनले अरु विभिन्न कार्यक्रम पनि जुम्ला पु¥याइरहेकी छिन् । पुराना कपडा संकलन गर्ने, धुने तथा सफा गर्ने र नयाँ प्याकिङ गरेर बजार पु¥याउने काम पनि गरिरहेकी छिन् राधाले । राधाले यसअघि अन्तर्राष्ट्रिय पिस एवार्ड, राष्ट्रिय युवा प्रतिभा पुरस्कारलगायतका सम्मान हात पारिसकेकी छिन् । त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर, फिलिपिन्सबाट एडीएम, कम्युनिटी हेल्थमा बीएन तथा बीएडसम्मको अध्ययन सिध्याएकी छिन् मदनपुरस्कार विजेता राधाले ।स्वास्थ्य खबरबाट :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com