इबोलाविरुद्ध भ्याक्सिन मानवमाथि परीक्षण सुरु I

एजेन्सी आश्विन २,

संसारभर त्रास मच्चाएको इबोलामाथि विजय पाउन वैज्ञानिकहरुले प्रयास सुरु गरेका छन् । बेलायतका वैज्ञानिकहरुले तयार पारेको इबोलाविरुद्धको भ्याक्सिन मानवमाथि परीक्षण सुरु गरिएको हो ।

अक्सफोर्ड विश्वविद्यालयमा यस्तो परीक्षण सुरु भएको हो । जनाबरमा सफल प्रयोगपछि वैज्ञानिकहरुले ६० जना स्वस्थ स्वयम्सेवकमाथि प्रयोग गरेका हुन् । परीक्षण गरिएका मानिस बिरामी हुन सक्ने सम्भावनालाई दृष्टिगत गर्दै यो भ्याक्सिनमा भाइरसको निकै कम जेनेटिक पदार्थ सामेल गरिएको छ । 

विश्व स्वास्थ्य संगठनका अनुसार पश्चिमी अफ्रिकाका चार देशमा इबोलाबाट यसैवर्ष २४६१ जनाको मृत्यु भैसकेको छ । सामान्यतः कुनै पनि औषधि सर्वसाधारणका लागि प्रयोगमा ल्याउनुपूर्व वर्षौसम्म क्लिनिकल ट्रायल गर्ने गरिन्छ । तर, इबोला भाइरस तीब्र रुपमा फैलिएका कारण यसको परीक्षणका लागि पनि तीब्रताका साथ गरिएको हो । 

मानवमा गरिएको परीक्षण सफल भएमा सन् २०१४ को अन्त्यसम्ममा औषधि सर्वसाधारणका लागि उपलब्ध हुने बताइएको छ । त्यतिन्जेलसम्म दशहजार डोज भ्याक्सिन तयार पारिनेछ । ग्ल्याक्सोस्मिथक्लाइन नामक औषधि कम्पनी र अमेरिकाको राष्ट्रिय स्वास्थ्य संस्थान यो भ्याक्सिन तयार पार्ने कार्यमा संलग्न छन् । बिबिसी :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com