एचआईभी संक्रमित महिलामाथि सांघातिक आक्रमण I

डोटी आश्विन ११,

डोटी सदरमुकाम सिलगढीमा बसोबास गर्दै आएकी डोटीकै गैरागाउँ–९ की एचआईभी संक्रमित महिलामाथि सांघातिक आक्रमण गरिएको छ। आक्रमणबाट गम्भीर घाइते शारदादेवी धामीको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ।

पटकपटक दोषीमाथि कारबाहीको माग गर्दा समेत जिल्ला प्रहरी कार्यालय डोटीले गम्भीरतापूर्वक नलिएको भन्दै डोटी जिल्लामा रहेका एचआईभी संक्रमितहरूले दोषिमाथि कारबाही नगरिए आन्दोलन गर्ने घोषणा गरेका छन्। एचआईभी संक्रमितहरूको संजाल लालीगुराँस एकता समाजको बुधबार सिलगढीमा सम्पन्न भेलाले एचआईभी संक्रमित महिला शारदामाथि सिलगढी नाचन्थली निवासी इन्दा साउद र उनकी छोरी वसन्तीले विभिन्न भेदभाव र लान्छाना ज्यान मार्ने नियतसहित कुटपिट गरेको भन्दै दोषीमाथि कडा कारबाहीको माग गरेको छ।

सञ्जालका सचिव तारानाथ साउदका अनुसार सो घटनाका विषयमा राष्ट्रिय मानवअधिकार आयोगलगायत मानवअधिकारबादी संस्थामा उजुरी दिने तयारी भइरहेको छ। ‘उजुरी दर्ता गराउन जाँदा प्रहरीले प्रमाण माग्यो’, सचिव साउदले आक्रोशित मुद्रामा भन्नुभयो– ‘समुदायका व्यक्तिले भेदभाव गर्थे गर्थे राज्यले समेत हेला गर्यो।’

संक्रमित महिलालाई कुटपिट गरेपछि जिल्ला प्रहरी कार्यालयमा उजुरी दिन गए पनि प्रहरीले राजनैतिक दबाबमा उजुरी नलिएको भन्दै न्यायका लागि मानवअधिकारवादी संघसंस्था तथा पत्रकारलाई गुहार्ने निर्णय भएको लालीगुराँस एकता समाजले विज्ञप्तिमार्फत जनाएको छ। कुटपिटबाट गम्भीर घाइते भएकी संक्रमित महिला शारदा धामीको टाउको, घाँटी र पिठ्युँमा चोट लागेको उनका आफन्तले जानकारी दिएका छन्। यस विषयमा भने प्रहरीले कुनै जानकारी गराएको छैन। नेपाल समाचारपत्र :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com