सुर्खेत १७ भाद्र,
मध्यपश्चिमाञ्चल गजल मञ्चको आयोजनामा सुर्खेतको वीरेन्द्रनगर स्थित एभरेष्ट रेष्टुरेण्ट एण्ड लजमा एक पत्रकार सम्मेलनको आयोजना गरी मध्यपश्चिमाञ्चल गजल प्रतिष्ठानको सुर्खेत शाखालाई मध्यपश्चिमाञ्चल गजल मञ्चमा समायोजन गरेको कुरा घोषणा गरिएको छ ।
वाङ्मय चौतारी नेपालका अध्यक्ष गणेशभक्त गौतमको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मध्यपश्चिमाञ्चल गजल मञ्च र मध्यपश्चिमाञ्चल गजल प्रतिष्ठान शाखा सुर्खेतले संयुक्त प्रेस विज्ञप्ति समेत प्रकाशित गरेका छन् । मध्यपश्चिमाञ्चल गजल प्रतिष्ठानका सल्लाहकार युवराज संगम, ऋषि शर्मा सुदामा, अध्यक्ष धिरेन थापा अनुपम, सचिव पहल असिम थापा कृष्ण विरही जलन, गणेश कञ्चन थापा लगायतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
स्थानीय संचार माध्यमका पत्रकारहरुको उल्लेख्य उपस्थिति रहेको उक्त पत्रकार सम्मेलनमा पत्रकार महासंघका अध्यक्ष गणेश कञ्चन भारती, मध्यपश्चिमाञ्चल गजल मञ्चका पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै गणेशभक्त गौतमले भन्नुभयो– संस्थालाई आधिकारिक रुपमा नेपाल सरकारमा दर्ता गरी चलाउनु खुसीको कुरा हो । संस्थाको स्थापना गरेर थन्काउनु भन्दा संस्थालाई गतिशिल बनाउनु ठूलो कुरा हो भन्दै संस्थाको निरन्तरता र सफलताको शुभकामना व्यक्त गर्नु भयो ।
कार्यक्रममा शुभकामना मन्तव्य दिने क्रममा युवराज संगमले विगतदेखि वर्तमानसम्मको इतिहासलाई सम्झदै भन्नुभयो – हिजोका दिनहरुमा जे जसरी चलेको भएपनि अब देखी दर्ता भएको संस्थाले अवश्य पनि ऐतिहासिक कार्यहरु गर्नेछ । मध्यपश्चिमको क्षेत्रीय सदरमुकाम वीरेन्द्रनगरलाई आज भोली साहित्यको उर्वर भूमिका रुपमा हेरिन्छ । यहाँका नयाँ पुस्ताका साहित्यकारहरुले यसलाई गजलको मलिलो माटो भन्ने गर्छन । सुर्खेतको वीरेन्द्रनगरमा २०६२ सालमा स्थापना भएको सुर्खेत गजल मञ्च २०६३ सालदेखि मध्यपश्चिमाञ्चल गजल प्रतिष्ठान शाखा सुर्खेतको रुपमा संचालन हुदै भएको थियो । यो संस्था आधिकारिक रुपमा दर्ता भने भएको थिएन । संगमले इतिहासलाई सम्झनु भयो ।
शुभकामना मन्तव्यकै क्रममा पत्रकार महासंघ शाखा सुर्खेतका अध्यक्ष गणेश कञ्चन भारतीले आफ्नो तर्फबाट गर्नुपर्ने सहयोग गर्न आफू तत्पर रहेको र साहित्यकारलाई पत्रकार मान्ने चलन नै नभएको हाम्रो देशमा सुर्खेतबाट साहित्यकारहरुलाई पनि पत्रकार महासंघको साधारण सदस्यताका लागि आफूले पहल गर्ने र त्यसमा साहित्यकारहरु पनि जोडतोडका साथ लाग्न आग्रह समेत गर्नुभयो ।
मध्यपश्चिमाञ्चल गजल मञ्चका अध्यक्ष खगेन्द्र अधिकारी अमृतले मञ्चको कार्य समितिको नामावलीको जानकारी गराउनु भएको थियो ।
जस अनुसार अध्यक्ष खगेन्द्र अधिकारी अमृत, उपाध्यक्ष सरस्वती पन्त, महासचिव धिरेन थापा अनुपम, सचिव प्रभा आँकुरा, कोषाध्यक्ष विष्णु महातारा र सदस्यहरुमा पूर्णदेब अधिकारी, हिरा कुमारी खत्री, कमला चालिसे, रमेश चन्द कुसुम र सल्लाहकारहरुमा युवराज संगम, ऋषि शर्मा सुदामा र गणेश कञ्चन भारती रहनु भएको छ ।
दुई वटै संस्था मध्यपश्चिमाञ्चल गजल प्रतिष्ठान र मध्यपश्चिमाञ्चल गजल मञ्चले संयुक्त प्रेस विज्ञप्ति प्रकाशित गरी दुई वटा समितिलाई एउटै समितिमा समायोजन गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ – आजका मितिदेखि मध्यपश्चिमाञ्चल गजल प्रतिष्ठानले भए गरेका कार्यहरु मध्यपश्चिमाञ्चल गजल मञ्चले भए गरेको मानिनेछ ।
मध्यपश्चिमाञ्चल गजल प्रतिष्ठानका अध्यक्ष धिरेन थापा अनुपमको अध्यक्षतामा भएको उक्त कार्यक्रम सचिव पहल असिम थापाले संचालन गर्नुभएको थियो ।