कविता- (दशैँ र म) By, पूर्ण कान्छा गुरुङ


कविता- (दशैँ र म)

यो ताका-
मेरा छोरा-छोरीहरु
मनमा खुशीको महल बनाउँछन्
देखिन्छन् घाम सबैको मुहारमा
म हरेक पल
छोरा-छोरीहरुको त्यो मुहारको घाम
 न-डुबोस भन्ने चाहनामा
दिनभरी घाम खोजिरहेको छु !

एक बर्ष भरि गर्भमा बोकेको
त्यो सपना सबैले जन्माउँछन्
नयाँ नाना लगाउँने मामा घर जाने
 चिची पापा खाने साथी भाईसंग
 पिङ्गमा मच्चिने
केहिक्षण साथीभाईसंग
भाडाकुटी खेलेर फर्कन्छन् आफ्नो घरमा
हेर्छन् चारै तीर देख्छन् हिजो जस्तै
 र, सोध्छन्
“आमा” दशैँ कहाँ आई पुग्यो ?

के जबाफ दिउ छोरा-छोरीहरुलाई ?
भन्छन्
दशैँ सबैको ढोकामै आई सकेको छ
 परदेशी घर फर्किने क्रम जारी छ
घरहरुले नयाँ रुप फेरी सकेको छ
फूलहरुले तिहार पनि बोलाइ रहेको छ
गाउँघरमा जता ततै दशैँ आयो गीत
बज्न थाली सकेको छ
तर मेरो घरमा
गीत गाउँछ थाल भाँडाले अभावको
अगेना मौन छ
चामलको बोराको गाला, चाउरी परेको छ
पुरानो दराजको भूँडी खालि छ

हुनेले दशैमा, फेर्छन् स्वाद र पहिरन
किन्छन्, चढ्छन् पोजेरो र पल्सर
तर मैले कहिल्यै पर्खेको छैन दशैँ
जहिल्यै किन्ने गरेको छु
बिहान खानलाइ बिहानै
 बेलुकाको लागि बेलुकै
त्यसैले मेरो लागि
जहिल्यै दशैँ नै दशैँ !!

पूर्ण कान्छा गुरुङ 
ओखलढुंगा 
हाल: कतार

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com