काठमाडौँ, २९ साउन ।,
इबोला भाइरस भित्रिन नदिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित सातवटा सीमामा स्वास्थ्य परीक्षण टोली राख्ने प्रक्रिया आजदेखि सुरु गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री खगराज अधिकारी, सचिव तीर्थ बुर्लाकोटी, मुख्य सचिव लीलामणि पौडेल, गृह, परराष्ट्र, पर्यटन तथा नागरिक उड्डयन, उद्योग वाणिज्य मन्त्रालयका सचिवसहितको उच्च अधिकृतको बुधबार बसेको बैठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित अन्य नाकामा स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य टोली राख्ने निर्णय गरेको थियो ।
“हामीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित अन्य सीमा नाकामा स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य परीक्षण टोली (हेल्थ डेक्स) राख्न आवश्यक कार्य सुरु गरेका छौँ, आवश्यक कोठाको खोजीमा छौँ, कोठा उपलब्ध भएपछि शङ्कास्पद व्यक्तिको परीक्षण कार्य सुरु हुन्छ,” स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. सेनेन्द्रराज उप्रेतीले भने । उनले इबोला भाइरस भित्रिने विषयमा आतङ्कित र चिन्तित नहुन तर सचेत हुन भने आग्रह गरेका छन् ।
मन्त्रालयले नेपाल भित्रिने एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित भारत र चीनसँगका अन्य सातवटा सीमा (नाका) पाँच जनाको स्वास्थ्य परीक्षण टोली रहने जनाएको छ ।
एकजना विशेषज्ञ चिकित्सक, एकजना चिकित्सक, एकजना परिचारिका र अन्य दुईजना सहयोगी आवश्यक उपकरणसहित सो टोलीमा रहने छन् । टोलीले आफ्नो सुरक्षाका लागि टाउकोदेखि खुट्टासम्म सुरक्षित कपडा, मास्क र पञ्जा लगाउने छन् ।
उपत्यका बाहिरका सीमा नाकामा अहिले सम्बन्धित जिल्लाका जनस्वास्थ्य कार्यालयलाई उपलब्ध जनशक्तिलाई परिचालन गर्न मन्त्रालयले परिपत्रसमेत गरिसकेको छ ।
मन्त्रालयले सन् २००९ मा पनि विमानस्थलसहित अन्य सीमामा स्वाइन फ्लू र बर्ड फ्लू भित्रिन नदिन यसप्रकारको हेल्थ डेस्क स्थापना गरेको थियो । विभागका महानिर्देशक उप्रेतीले नाकाबाट आउने सबैको परीक्षण गर्ने कि शङ्कास्पदको मात्र गर्ने भन्ने विषयमा छलफल भइराखेको जानकारी दिए ।
मन्त्रालयको इबोला भाइरस भित्रिन नदिन के तयारी गर्दैछ ? भन्ने जिज्ञासामा महानिर्देशक उप्रेतीले विश्व स्वास्थ्य सङ्गठनको नेपाल सदस्य देश भएकाले सङ्गठनको मार्ग निर्देशनअनुरुप इबोला प्रकोपविरुद्ध सामना गर्न नेपालले आवश्यक तयारी गरेको जानकारी दिए । सङ्गठनको नेपालस्थित कार्यालयले इबोला भित्रिन नदिन मन्त्रालयलाई आवश्यक पर्ने सहयोग प्रदान गर्नेसमेत जानकारी दिएको छ । हेल्थ डेस्कले परीक्षण गर्दा शङ्कास्पद लागेकालाई तत्काल उपचार गर्न मन्त्रालयले वीर र टेकु अस्पताललाई तयारी अवस्थामा राखेको छ । रासस: