काठमाडौं भाद्र ५,
वर्षको ५ सय रुपैयाँ बुझाएपछि सरकारले १० हजार रुपैयाँसम्मको उपचार नि:शुल्क गरिदिने भएको छ । यसै वर्षदेखि सुरु भएको स्वास्थ्य बिमा कार्यक्रममा यस्तो प्रस्ताव गरिएको हो ।
सरकारले प्रतिव्यक्ति एक वर्षको ५ सय रुपैयाँ प्रिमियम उठाउने प्रस्ताव गरेको हो ।
बिमा लागू भएका जिल्लामा सो प्रिमियम बुझाउने व्यक्ति वा उसको परिवार कोही बिरामी भए १० हजारसम्मको निशुल्क स्वास्थ्य सेवा पाउने प्रस्ताव गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह सचिव केदारबहादुर अधिकारीले बताए ।
एक नेपालीले स्वास्थ्यका लागि एक वर्षमा १० हजार रुपैयाँसम्म खर्च गर्ने गरेको पाइएकाले सोही अनुसार उपलब्ध गराउने प्रस्ताव गरिएको हो । त्यसैगरी, हाल तोकिएको ५ सय रुपैयाँबराबरको प्रिमियम सबै नागरिकले तिर्न सक्ने अवस्था रहेको निक्र्यौल गरी मन्त्रालयले सो प्रस्ताव राखेको हो ।
प्रस्तावित स्वास्थ्य बिमा नियममा पाँचजनासम्म सदस्य रहेको परिवारको प्रत्येक वर्ष २ हजार ५ सय रुपैयाँ प्रिमियम बुझाउनुपर्ने र सो परिवारको कुनै सदस्य बिरामी भएर उपचार गर्नुपरेमा ५० हजारसम्मको बिमाबापत निशुल्क सेवा मिलाउने व्यवस्था गर्ने तयारी रहेको सहसचिव अधिकारीले बताए ।
सो भन्दा ठूलो वा सानो परिवार भए त्यही अनुपातमा उसले उपचारबापतको खर्च पाउने छन् ।
हाल सरकारले निशुल्क उपलब्ध गराउँदै आएको र गराउने भनिएका औषधिलाई पनि सोही बिमा कार्यक्रम अन्तर्गत ल्याई थप प्रभावकारी बनाउने रणनीति तयारीको क्रममा रहेको बताए । (भिषा काफ्ले-राजधानी दैनिक)