काँकडभिट्टा अध्यागमनमा इबोला हेल्प डेक्स I

काँकडभिट्टा (झापा) भाद्र ३,

पूर्वी नेपालको मुख्य नाका काँकडभिट्टामा इबोला भाइरसको सङ्क्रमण रोक्न सरकारले क्वारेन्टाइन हेल्प डेक्स सञ्चालनमा ल्याएको छ । 

झापाको काँकडभिट्टा भारतको पश्चिम बङ्गालसँग सीमा जोडिएको र सिक्किम, आसाम, मेघालय, नागाल्यान्डलगायतका प्रान्तसँग नजिक रहेको नेपालको पूर्वी नाका हो । अध्यागमन कार्यालय परिसरमा स्थापना गरिएको इबोला हेल्प डेक्समा अहेव हरिश्चन्द्र देवकोटाको नेतृत्वमा स्वास्थ्यकर्मीको एक टोली आइतबारदेखि खटिएको छ । 

टोलीले दक्षिण अफ्रिकी मुलुकबाट नेपाल आउने पर्यटकका बारेमा सोधखोज गर्ने र आवश्यक स्वास्थ्य परामर्श र सम्भाव्य सङ्क्रमित व्यक्तिको निगरानी गर्ने अहेव देवकोटाले बताए । डेक्सको उद्घाटन अवसरमा झापाका प्रमुख जिल्ला अधिकारी एकमणि नेपाल, प्रहरी उपरीक्षक मुकुन्दराज आचार्य, अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख रामप्रसाद फुयल लगायतको उपस्थिति थियो । रासस:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com