बाढीपीडित २० हजार भन्दा बढी बिस्थापित I

अब कता जाने ?: बाँकेको होलियास्थित चौफेरीका
बाढीपीडित ज्यान संकटमा पर्दासमेत कतैबाट सहयोग
 नपाएपछि गाउँ छाड्दै। बस्ती पूरै डुवानमा परेको
 ५ दिनसम्म पनि उद्धार र राहतको पहल नभएपछि
बचेका केही अनाज र लत्ताकपडा पोको पारेर
उनीहरूले बस्ती छाडेका हुन्। तस्बिर: ज
काठमाडौ, भाद्र ३,

बाढीपहिरोबाट पाँच दिनयता ज्यान गुमाउनेको सख्या १ सय ५ पुगेको छ। गृह मन्त्रालयका अनुसार अझै १ सय ३६ जना बेपत्ता छन्। मन्त्रालयले ४२ जना घाइते भएको पनि जनाएको छ।

मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रले सोमबार जारी गरेको विज्ञप्तिअनुसार २० हजार २ सय ३९ परिवार विस्थापित भएका छन्। विस्थापित हुनेमा बर्दियामा १४ हजार ४ सय २४, बाँकेमा २ हजार ५, कैलालीमा १७ सय ४५, सुर्खेतमा १७ सय, दाङमा ३ सय, सल्यानमा ६५ परिवार छन्। बाढीपहिरोले घरबास विनाश गरेको एक साता पुग्न लागिसक्दासम्म पनि राहत लिएर कोही नआएपछि पीडित परिवारहरू भोकै-नाङ्गै आफ्नो थलो छोड्न बाध्य भएका छन् ।

प्रधानमन्त्री सुशील कोइरालाले प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनःस्थापनामा सघाउन सबैसँग अपिल गरेका छन् भने सरकारले

यो राष्ट्रिय विपत्तिको अनुगमनका लागि उच्चस्तरीय समिति गठन गर्ने भएको छ ।

गृहका अनुसार बाढीले ११ हजार ५ सय ८४ घर डुबानमा परेका छन्। बाँकेमा ६ हजार ३ सय ६४, बर्दियामा ३ हजार ८ सय ३७, सिरहामा ४ सय १५, रौतहटमा २ सय ५०, सुर्खेतमा ३ सय ७९, कैलालीमा २ सय, दाङमा ३५, मोरङमा ८४, चितवनमा २० घर डुबानमा परेको गृहले जनाएको छ। मन्त्रालयका अनुसारबाढीपहिरोका पीडितलाई हालसम्म ७ लाख ७० हजार रुपैयाँ राहत रकम बाँडिएको छ।

उद्धार र राहत नहुँदा भोकै-नाङ्गै

- सोमबारसम्म मृत्यु हुनेको संख्या १ सय ५ पुग्यो

- पीडितलाई ज्वरो, झाडापखाला, रूघाखोकी, आँखा पाक्ने र छालाको संक्रमण

- बाँके फत्तेपुरका पीडितको पाँच दिनदेखि जंगलमा बास

- प्रभावित क्षेत्रमा सुत्केरी र गर्भवतीको बेहाल

- सुर्खेतका पीडितसँग आङमा समेत कपडा छैन

- सडक र पुलहरू बगेपछि जाजरकोट-रामीडाँडा गाउँ नाकाबन्दीमा

- विद्युत् संरचना क्षतिग्रस्त भएपछि बाजुरा ६ दिनदेखि अन्धकार

मध्यपश्चिम ब्युरो

नेपालगन्ज- सरकारले बाढीपहिरोग्रस्त क्षेत्रमा उद्धार, राहत र पुनःस्थापन योजना बनाएको दाबी गरे पनि बाँके, बर्दिया र सुर्खेतका हजारौं पीडित बिचल्लीमा परेका छन्। केही दिनदेखि भोकै र अर्धनग्न अवस्थामा रहेकाहरू ज्यान जोगाउन रुँदै गाउँ छाडेर हिँड्न थालेका छन्। बाँकेको होलियास्थित चौफेरीमा गाउँ छाड्नेको लस्कर छ। सुर्खेत र बर्दियाका पीडितले भोकै र नाङ्गै बस्नुपरेको छ।

बाँके संवाददाता जे पाण्डेका अनुसार बस्ती पूरै डुबेको ५ दिनसम्म सहयोग र राहत नपाएपछि बचेका केही अनाज र लत्ताकपडा पोको पारेर होलियावासीले गाउँ छाडेका हुन्। राप्ती नदीपूर्वको होलियाका २, ३ र ४ का करिब ५ सय पीडितमध्ये ३ सय जना डुंगाबाट नदी पार गर्दै बासको खोजीमा लागेका छन्। तीमध्ये अधिकांश भोकभोकै छन् भने केही अर्धनग्न। '५ दिनसम्म

मर्नु न बाँच्नु भयौं,' लालाबालासहित बस्ती त्यागेर हिँडेका विदेश यादवले भने, 'राहत र उद्धारको भर परेर अकालमा मर्नुभन्दा बस्ती छाडे ज्यान त बच्ला भनेर हिँड्यौं।' परिवारसहित बस्ती छाडेका गंगालाल यादवले सरकारी उपेक्षाका कारण ज्यान जोखिममा पर्न थालेपछि हिँड्नुको विकल्प नभएको बताए। 'कसैको पनि अन्नपात बचेको छैन, यही बचेको ज्यान पनि जोखिममा छ,' उनले भने।

डुबानमा परेका उनीहरूले राहत र उद्धारका लागि गरेको हारगुहार कसैले नसुनेको बताए। पाँच दिनदेखि भोकभोकै बसेका पीडितले सरकारले वास्ता नगरेकाले रुँदै गाउँ छाड्नुपरेको पुष्पा माहुतले बताइन्। '५ दिनरात त घरको छानामा बसेर काट्यौं,' कक्षा ८ पढै गरेकी पुष्पाले भनिन्, 'भोकले मर्नु न बाँच्नु जस्तो बनायो। कसैले खरको छानामाथि माटो थुपारे। त्यसैमा बनाएको चुल्होमा कुहिएको चामल पकाएर खायौं।'

दुई पटक हेलिकप्टरबाट झारेको खानेबस्तु धेरैजसो पानीमा परेको र केही बलियाले मात्र लगेकाले वृद्ध, महिला र बालबालिका भोकै बस्नुपरेको पीडितले बताए। उनीहरूले डुबानका कारण उच्च जोखिममा परेका अन्य पीडितले पनि धमाधम गाउँ छाड्न थालेको जानकारी दिए। दिनभर हवाई र स्थल मार्गबाट उद्धार प्रयास गरिएको सरकारी अधिकारीले दाबी गरे पनि पीडितले त्यस्तो पहल नभएको गुनासो गरे। 'मुस्किलले ज्यान बच्यो,' अनिता नाउले रुँदै भनिन्, 'घर पनि भत्केको छ, बस्नेखाने ठाउँ पनि छैन।'

सुर्खेत संवाददाता मोतीलाल पौडेलका अनुसार बाढीग्रस्त गाउँ पुग्दा पीडितको शरीरमा भित्री बस्त्रबाहेक अरू थिएन्। भात पकाउने कसौडी र खाने थाल मात्र हैन, ओढ्ने/ओछ्याउनेसमेत बगाएपछि उनीहरू झन्डैझन्डै नाङ्गै छन्।

अहिलेसम्म न उद्धार टोली पुगेको छ, न त राहत वितरण नै भएको छ। लेखपराजु १ घुमाउनेका नन्दराम सार्कीले भने, 'आङमा एकसरो कपडा पनि रहेन, लाज जोगाउनसमेत मुस्किल भयो।

बाढीपहिरोले बगाएको घुमाउने गाउँको पीडामा अहिलेसम्म स्थानीय प्रशासन बेखबर छ। प्रशासनको पर्खाइमा रहेका स्थानीय आत्तिएर जानकारीका लागि चौथो दिन आफैं सदरमुकाम धाउन विवश छन्। बाढीपहिरोले बस्ती बगाएको चार दिनसम्म पनि प्रहरी प्रशासन उद्धार र राहतका लागि नपुगेपछि लेखपराजुल १ घुमाउनेका रामबहादुर सार्की गाउँको अवस्थाबारे जानकारी गराउन सोमबार वीरेन्द्रनगर जान लागेको बताए। भेरी किनारमा रहेको बस्तीमा एक्कासि भेल पसेपछि भागेर बचेका बासिन्दा भने उद्धार र राहतको पर्खामा छन्। 'अहिलेसम्म कोही आएका छैनन्,' उनले भने, 'बाढीबाट बच्न सफल भएका स्थानीय एक चर्चमा शरण लिन पुगेका छन्।' घर बगाएपछि घुमाउनेमा ५० जना विस्थापित रहेको जानकारी उनले दिए।

भेरी र छिन्चु खोलाले १३ घर बगाएको रत्न राजमार्ग नजिकैको लेखपराजुल ६ स्थित बस्तीमा समेत सरकारी उद्धार टोली नपुगेको नरबहादुर बुढाको गुनासो छ। उनले भने, 'सडक नजिकैको स्थानमा समेत सरकारले उद्धार र राहतमा चासो देखाएन।' गत बिहीबार राति १ बजे ज्यान जोगाउन घर छाडेका उनीहरू नजिकैको विद्यालयमा बस्दै आएका छन्। भेरी र छिन्चु खोलाले पुरिएको घरमा आफ्नो सामान खोज्दै गरेका स्थानीय गणेशबहादुर राईले बाढीपछि उद्धार नहुँदा समस्या भएको बताए। उनले भने, 'भोगेर ज्यान बचाइयो, अहिले घरभित्रको सामान खोर्सेर निकाल्दै छौं।'

विस्थापित लेखपराजुल ६ कै जयबहादुर विटालुले रात बिताउनलाई समेत समस्या भएको बताए। उनले विस्थापितलाई ओत लाग्नका लागि तत्काल त्रिपालको समस्या भएको बताए। विस्थापित २१ घर परिवार नजिकैको शिशु स्याहार केन्द्रमा बस्दै आएका छन्।

पीडितलाई उद्धार गर्ने काम जारी राखेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक योगेन्द्र हमालले बताए। उनले सोमबार मात्रै साटाखानीबाट ५ र हरिहरपुरको सिस्नेरीबाट ३ जना घाइतको उद्धार गरिएको जानकारी दिए। उद्धार र राहतका लागि प्रभावित सबै गाविसमा सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन भइसकेको हमालले बताएका छन्। प्रभावित क्षेत्रमा पुगेका सुरक्षाकर्मीले बेपत्ताको खोजी र राहत वितरण कार्यमा सहयोग गर्ने उनले जनाएका छन्। वीरेन्द्रनगर, लाटीकोइली, हरिहरपुर, तरंगा, साटाखानी, तातापानी, बाबियाचौर, सहारे, मालारानीमा गरी ३१ जनाको मृत्यु भएको छ। उनले सोमबार तरंगा, बाबियाचौर र साटाखानीमा गरी तीन जनाको शव फेला परेको बताए। बाढीपहिरोबाट सुर्खेतका विभिन्न गाविसमा गरी ९८ जना बेपत्ता छन्। जिल्लामा ९ सय ४९ घर पूर्णरूपमा क्षति भएको र ६ सय ५५ आंशिक क्षति हुँदा ५ हजार ६ सय १९ जना विस्थापित हुन पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। विस्थापितमध्ये विभिन्न ३८ वटा स्थानमा विद्यालय र सार्वजनिक स्थानमा बस्दै आएको प्रहरीले जनाएको छ।

दुई सय बाढीपीडित बिरामी

बाँकेका बाढीग्रस्त क्षेत्रमा भाइरल ज्वरोको प्रकोप देखिन थालेको संवाददाता ठाकुरसिंह थारूले जनाएका छन्। राप्ती नदीको तटीय क्षेत्र होलिया, बनकट्टी क्षेत्रमा मात्रै दुई सय बढी बाढीपीडितमा ज्वरो, झाडापखाला, रूघाखोकी, आँखा पाक्ने र छालामा संक्रमण देखिएको छ।

राप्ती पारिका मटेहिया, गंगापुर, फत्तेपुर, बैजापुर लगायतका क्षेत्रका सयौं स्थानीयमा त्यस्तै संक्रमण देखिन थालेको हो। उढरापुर, सोनपुरका करिब सय स्थानीयमा पनि त्यस्तै समस्या देखिएको छ। बाढीपीडित सबैजसो स्थानमा त्यस्तो रोगको संक्रमण देखिन थालेपछि जिल्ला जनस्वास्थ्यले नियन्त्रणका लागि प्रयास थालेको छ।

सबैभन्दा बढी होलिया क्षेत्रका स्थानीय उक्त रोगबाट पीडित भएको जिल्ला जनस्वास्थ्यले जनाएको छ। राप्ती नदी गाउँमा पसेपछि यहाँका स्थानीयहरू बिस्थापित भएर तीन रात खुला आकाशमुनि बिताएका कारण बिरामी भएका हुन्। त्यस्तै बेतहनीका बाढीपीडित पनि बिरामी हुन थालेको स्थानीयले बताए।

जिल्ला जनस्वास्थ्यका महामारी रोग नियन्त्रण शाखाका फोकल पर्सन रामबहादुर चन्दले होलियाका बाढीपीडित क्षेत्रका स्थानीयको स्वास्थ्य जाँच गर्दा एक सय बढीमा भाइरल ज्वरो पाइएको बताए। उनले उढरापुरका करिब ५० स्थानीय पनि भाइरलबाट पीडित भएको बताए।

'बाढीग्रस्त क्षेत्रका स्थानीयमा ज्वरो आउने, टाउको दुख्ने, पखाला, रूघाखोकीलगायत संक्रमणको समस्या देखिन थालेको छ। हामीले बाढी प्रभावित क्षेत्रका स्थानीयको स्वास्थ्य जाँचका लागि नजिकैको स्वास्थ्यचौकीमा व्यवस्था मिलाइरहेका छौँ,' चन्दले भने, 'हाल भाइरल ज्वरो लगायत देखिएको प्रकोप नियन्त्रणमा छ। औषधि पठाउने क्रम जारी छ।' चार दिनसम्म बाढी घरमा पसेको, सबैथोक भिजेको, गाउँभरि हिलो जमेको र पीडितलाई बस्ने सुरक्षित नहुँदा प्रभावित क्षेत्रमा रोगको संक्रमण देखिन थालेको हो। त्यस्तै, डुबानमा परेका स्थानका धाराका पानी पिउँदा रोगको संक्रमण देखिएको स्वास्थ्यकर्मीले बताए। बाढीग्रस्त क्षेत्रमा देखिन थालेको रोगको प्रकोप नियन्त्रणका लागि जिल्ला जनस्वास्थ्यले स्वास्थ्यचौकीलाई निर्देशन दिएको छ।

बाढीपहिरो पीडित सल्यान काप्रेचौरस्थित घुइयाबारीका ३२ र काल्चे दम्दवालीका ३५ गरी ६७ परिवारलाई राहत वितरण गरिएको छ। मृतकका परिवारलाई नगद ४० हजार, प्रभावित परिवारलाई ५ हजारका दरले खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा, टेन्ट वितरण गरिएको संवाददाता विप्लब महर्जनले जनाएका छन्।

खाद्यान्नका लागि जिविसले, दाल, तेलको उद्योग वाणिज्य संघले, औषधि स्वास्थ्यले र लत्ताकपडा तथा भाँडाकुँडा रेडक्रसले सहयोग गरेको प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताए। आइतबार हेलिकप्टरबाट ती सामग्री दम्दवाली र घुइयाबारीमा पुर्‍याइएको थियो। मौसमको खराबीका कारण हेलिकप्टर फर्किएपछि निगालचुला भदालेका पीडितलाई भने राहत वितरण गर्न नसकिएको उनले बताए। उनीहरूका लागि गाडीमा आधा बाटोसम्म राहत पठाएर वितरण गर्ने योजना बनाइएको छ।

बर्दियामा मृत्यु हुनेको संख्या २१ पुग्यो

बबई नदीमा आएको बाढीले मृत्यु हुनेको संख्या बढेर २१ पुगेको संवाददाता कमल पन्थीले जनाएका छन्। सोमबार थप ३ शव फेला परेको हो। मृत्यु हुनेमा गुलरिया नगरपालिकाका पाँच, सोरहवा गाविसका तीन, बेलवा चेपाङका तीन, बनियाभार गाविसका पाँच, मोहम्मदपुरका दुई, मगरागाडी, राजापुर र खैरीचन्दपुरका एक/एक जना रहेको जिल्ला प्रश्ाासनले जनाएको छ। बाढीबाट अझै १५ बेपत्ता छन्। नेपाल रेडक्रस सोसाइटीका सदस्य अर्जुन सुवेदीले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताए।

विस्थापितको संख्या १८ हजार २ सय पुगेको जिल्ला दैवी प्रकोप उद्धार समितिले जनाएको छ। पीडित विद्यालय र सरकारी कार्यालयमा आश्रय लिएर बसेका छन्। चार दिनदेखि उनीहरू बिस्कुट र चाउचाउ मात्रै खाएर बसे पनि सरकारीस्तरबाट चामल, दाल, नुन वितरण गरिएको छैन। विस्थापित भोकै मर्ने अवस्था आएको गुलरिया १० का रामप्रसाद थारु बताए। दैवी प्रकोप उद्धार समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले मंगलबारदेखि चामल, दाल, नुनलगायत खाद्यबस्तु वितरण गरिने बताए।

साहसी कालिका बिरामी

आफ्ना र छिमेकीका गरी चार बालबालिकालाई उद्धार गरी रूखमा २५ घन्टा राखेर ज्यान जोगाएकी गुलरिया ५ की कालिका घर्तीको स्वास्थ्यस्थिती बिग्रेको छ। बाढी घटेपछि २५ घन्टापछि उद्धार गरेर उनलाई अस्पताल भर्ना गरिएको थियो। उनका एक वर्षेकी छोरी पुष्पा र ६ वर्षीय छोरा काले पनि बिरामी छन्। उनीहरू सबैलाई ज्वरोले आक्रान्त पारेको छ। 'शरीरमा तागत छैन। खाना रुच्दैन, उल्टी हुन्छ,' उनले भनिन्, 'आफू त बिरामी भएँ, छोरीछोरीको पीर छ।'

जिल्ला अस्पतालका डा. विश्वनाथकुमार साहले घर्तीलाई भाइरल ज्वरोले च्यापेको बताए। उनलाई मानसिक चिन्ता र त्रासले निकै सताएको उल्लेख गर्दै उनले भने, 'उनको स्वास्थ्यमा सुधार आउन अझै केही दिन लाग्छ।' अस्पतालबाट फर्केर कहाँ जाने भन्ने चिन्ताले पनि उनलाई सताएको छ। बाढीले उनको घर र लत्ताकपडा सबै बगाएको छ। बाढीबाट बाँचे पनि भविष्यको चिन्ताले पिरोलेको उनले बताईन् । स्रोत;इकान्तिपुर :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com