इबोला भाइरस भित्रिन नदिन त्रिभुवन विमानस्थलमा स्वास्थ्य परीक्षण डेस्क I

काठमाडौँ श्रावन २८,

सरकारले इबोला भाइरस रोगको विश्वव्यापी सङ्क्रमणको अवस्थालाई ध्यानमा राखी नेपालमा भित्रिन नदिन विशेष तयारी गरेको छ । 

इबोला भाइरसको सङ्क्रमण रोक्ने सम्बन्धमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव शान्तराज सुवेदीको संयोजकत्वमा विभिन्न मन्त्रालयका सचिवसहितको बैठकले नेपालमा पर्न सक्ने प्रभाव र नियन्त्रणको पूर्वतयारीका लागि तत्काल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चिकित्सकसहितको स्वास्थ्य परीक्षण डेस्क स्थापना गर्ने निर्णय गरेको छ । 

इबोला भाइरसको विश्वव्यापी सङ्क्रमणलाई विश्व स्वास्थ्य सङ्गठनले सङ्कटकाल घोषणा गरेको सन्दर्भमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समन्वयमा स्वास्थ्य परीक्षण डेस्क स्थापना गर्ने छ । साथै गृह मन्त्रालयले नाइजेरिया, लाइबेरिया, सिरियालियोन र गिनीलगायत रोग सङ्क्रमित मुलुकबाट आउने यात्रुलाई विशेष निगरानी राखी इबोला भाइरसका शङ्कास्पद यात्रुलाई स्वास्थ्य परीक्षणपछि मात्र आगमनको अनुमति दिने व्यवस्था दिने भएको छ । 

सो क्रममा इबोला भाइरसका शङ्कास्पद बिरामीका लागि वीर अस्पताल र शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालमा स्वास्थ्य परीक्षण गरी उपचार गर्ने जिम्मा स्वास्थ्य मन्त्रालयमार्फत मिलाइएको छ । बैठकले गृह मन्त्रालयलाई कोदारी–तातोपानी, मेची–काँकडभिट्टा, वीरगून्ज, भैरहवा, धनगढी र भीमदत्तनगर नाकाको बाटो भई नेपाल प्रवेश गर्ने इबोला भाइरसका शङ्कास्पद यात्रुलाई स्थानीय जनस्वास्थ्य कार्यालयमार्फत परीक्षण गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ । 

सोका लागि स्वास्थ्य मन्त्रालयलाई रोग नियन्त्रण सम्बन्धमा सचेतना अभिवृद्धि गर्न जनचेतनामूलक कार्यक्रम प्रचारप्रसार गर्नसमेत निर्देशन दिइएको छ । बैठकपछि सचिव सुवेदीले इबोला भाइरसको विश्वव्यापी सङ्क्रमणबाट नेपाल र नेपालीलाई सुरक्षित राख्न सम्बद्ध निकायलाई सक्रियतापूर्वक लाग्न र बैठकका निर्णय तत्काल कार्यान्वयन गर्न निर्देशन दिएका थिए । रासस:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com