बुद्धिचाल खेलाडी सुरुचि थिङ नेपालकै पहिलो महिला क्यान्डिडेट मास्टर I

काठमाडौं श्रावन २९,

बुद्धिचाल खेलाडी सुरुचि थिङ नेपालकै पहिलो महिला क्यान्डिडेट मास्टर (सीएम) बनेकी छन्। नर्वेको ट्रोम्सोमा जारी ४१ औं चेस ओलम्पियाडमा सुरुचिले क्यान्डिडेट मास्टरको उपाधि हात पारेको जानकारी नेपाल बुद्धिचाल संघका सचिव हेराकाजी महर्जनले दिए। 

प्रतियोगिताअन्तर्गत मंगलबार राति भएको खेलमा नेपाली टोलीले लेसोथोमाथि ४-० को जित हात पारेसँगै सुरुचि पनि ऐतिहासिक खेलाडी बनेकी हुन्। नेपाली टोलीमा सुरुचिसँगै मोनालिसा खम्बु, अस्मिता अधिकारी र संगीता जैसवाल पनि सहभागी थिए। इतिहास रच्ने क्रममा सुरुचिले आठ खेलबाट व्यक्तिगत चार अंक हासिल गरिन्। उनले दोस्रो चरणको खेलमा नेपाललाई पहिलो गेम प्वाइन्ट पनि दिलाएकी थिइन्। 

सुरुचीले १० औं चरणको खेलमा भने लेसोथोकी आन्द्रोनिका माबोलोकालाई हराइन्। सुरुचीले २८औं चालमा एउटा सिपाही फाइदा गरिन्। त्यसैको दबावमा परेकी आन्द्रोनिका ५३ औं चालमा खेल त्याग्न बाध्य भइन्। काठमाडौंकी १५ वर्षीया सुरुचि महांकाल माध्यमिक विद्यालयमा अध्ययनरत छिन्। चेस ओलम्पियाडमा नेपाली महिला टोलीले पहिलोपटक सहभागिता जनाएको हो। 

अर्को खेलमा पूर्वनेपाल च्याम्पियन मोनालिसाले अनरेटेड खेलाडी रटोमेन्ग मलुपेलाई खेलको ४१ औं चालमा हराइन् भने अस्मिताले भेरोजिन्का पुलानेलाई पाखा लगाइन्। संगीताले भने लेसोथोकी अनरेटेड खेलाडी माफुथी मोटेसानेलाई हराइन्। 'पहिलो सहभागितामै नेपाली महिला खेलाडीले उत्कृष्ट प्रदर्शन गरे', महर्जनले भने। नेपाली पुरु ष टोली भने न्युजिल्यान्डसँग पराजित भएको छ। उक्त हारपछि नेपालले चेस ओलम्पियामा पदक जित्ने सम्भावना कमजोर बनेको छ। 

नेपालका रिजेन्द्र राजभण्डारीले न्युजिल्यान्डका रुसेल जोहानलाई बराबरीमा रोके। नेपालका अन्य तीन खेलाडी मनीष हमाल, केशव श्रेष्ठ र सजिन महर्जन भने न्युजिल्यान्डका प्रतिद्वन्द्वीसँग पराजित भए। केशवले खेल जितेको भए उनले फिडे मास्टरको उपाधि हात पार्ने थिए।_अन्नपूर्णबाट :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com