काखैबाट बगी छोरी, सारीले बाँधेर राखेकी थिएँ तर बचाउन सकिनँ।

टापर (बर्दिया)भाद्र ४,

'सानी छोरीलाई काखमा सारीले बाँधेर राखेकी थिएँ तर बचाउन सकिनँ। पाँच वर्षीया छोरी काखबाटै बगी, सासूससुरालाई पनि बगायो', किरियामा बसेकी राजपुर टापरकी २२ वर्षीया तुलसी खत्रीले रुँदै भनिन्, '६ जनाको हाम्रो परिवारमा अहिले तीनजना मात्र बाँचेका छौं।' लगातार वर्षासँगै बाढी आउँदा तुलसीको परिवारले पाएको कष्ट सहिनसक्नुको छ। 

'सुरुमा घर डुबाएर एउटा छाना बगायो, त्यसपछि श्रीमान्ले हामीलाई अर्को छानामा सार्नुभयो, हेर्दाहेर्दै त्यो पनि बगायो। त्यसपछि मलाई दुईवटी छोरीसँगै रूखमा लगेर राख्नुभयो', तुलसीले दु:ख सुनाइन्, 'दिउँसो १२ बजेदेखि ४ बजेसम्म त्यो रूखमा दुई छोरीलाई लिएर बसें। सानीलाई सारीले कम्मरमा बाँधे, ठूलीलाई रूखमा दह्रो समाउन लगाएँ।' उनीहरूलाई रूखमा पु:याएर तुलसीका पनि गोविन्द खत्री बाबुआमालाई बचाउन भनेर घरतिर गएका थिए। 

 'सासूससुरालाई बचाउन सक्नुभएन, आफू (पति) पनि बग्नुभएछ तर बाँच्नुभयो', तुलसीले भनिन्, 'यता हामी बसेको रूख पनि ढल्यो, सानी छोरीलाई काखैबाट बगायो, म पनि बगें। ठूली छोरी खै कसरी बाँची, थाहा छैन। म तीन सय मिटरजति बगाएपछि एउटा रूखलाई समात्न पुगेछु र बाँचे।' उनले आफू दुई दिनसम्म त्यहीं रूख समातेर बसेको र त्यसपछि मात्र उद्धार भएको पनि बताइन्। रूख समात्दासमात्दै आफू बेहोस भएको र अस्पताल पुगेपछि मात्र होस् आएको पनि तुलसीले बताइन्। 

पौडी खेल्न जान्ने भएकाले मात्र आफू बाँचेको उनले सुनाइन्। तुलसीकी पाँच वर्षीया छोरी मन्जु, सासू ४५ वर्षीया आइती र ससुरा ६० वर्षीय बलबहादुरलाई बबईको बाढीले बगाएको हो। उनका पति गोविन्दले पनि डेढ घन्टा बाढीसँग जुधेर ज्यान बचाएका थिए। परिवारका तीन सदस्य गुमाएका गोविन्द र तुलसी किरियामा बसेका छन्। यो परिवारका सदस्यमात्र होइन टापर गाउँकी मनसरा खत्री र उनकी आमा खमा खत्रीलाई पनि बबईको बाढीले बगाएको छ। त्यस्तै सोही गाउँकी गीता विकलाई पनि बाढीले बगायो। टापर गाउँका ३५ वटा घर बाढीले बगाएको छ। गोविन्दले गाउँमा बाढी पस्दा महिला र बालबालिका मात्र रहेको बताए। 

'गाउँ युवा र पुरुष सबै काम गर्न बाहिर गएका थिए, युवामा म र ओमप्रकाश खत्रीमात्रै थियौं', उनले भने, 'हामीले सकेसम्म बचाउने प्रयास गर्‍ यौं। हामीले तान्दै बाहिर ननिकालेको भए गाउँका कोही पनि बाच्ने थिएनन्।' बाढी घटे पनि उक्त गाउँ पूरै दुर्गन्धित छ। गाउँमा महामारी फैलिने सम्भावना रहेको स्थानीय टोपबहादुर शाहीले बताए। भारतको हिमाञ्चलमा रहेका उनी बाढीले घर परिवार बगायो भन्ने सुनेपछि गाउँमा आएका हुन्। उनले गाउँ पूरै बगाउँदा पनि सरकारले राहत नदिएको भन्दै आक्रोश पोखे। 

परिवारका सदस्य बगाएपछि किरियामा बसेका व्यक्तिले एक मुठी चालमसमेत नपाएको उनको गुनासो छ। बर्दियाका प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले बर्दियामा बाढीले ठूलो क्षति पुर्‍याएका कारण राहत र उद्धारमा ढिलाइ भएको स्वीकारे। सडक अवरु द्ध भएकाले पनि राहत पुर्‍याउन समस्या भइरहेको उनले बताए। बर्दियामा बाढीका कारण २१ जनाको ज्यान गएको छ भने १५ जना बेपत्ता छन्। बबई सिँचाइ आयोजनाको संरचना पनि भत्काएकाले त्यहाँ ८० करोड रुपैयाँबराबरको क्षति भएको पौडेलले बताए। 
(सुरेन्द्र काफ्ले-अन्नपूर्ण :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com