घरमा हुने प्रसूति घटाउन चौबिसैँ घण्टा सेवा सुरु I

बागलुङ आषाढ २५,

घरमा हुने प्रसूति दर घटाउन यहाँका प्रसूति केन्द्रले २४ सैँ घण्टा सेवा दिन थालेका छन् । सुरक्षित प्रसूति सेवामार्फत मातृ तथा शिशु मृत्युदर घटाउन र घरमै हुने प्रसूतिलाई कम गर्न प्रसूति केन्द्र पनि विस्तार गरिएको छ ।  जिल्लामा हालसम्म २५ स्वास्थ्य संस्थामा प्रसूति केन्द्र सञ्चालनमा आइसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । ती केन्द्रहरुमा २४ सैँ घण्टा प्रसूति सेवा प्रदान गरिएको वरिष्ठ जनस्वास्थ्य प्रशासक महेश्वर श्रेष्ठले बताए ।

‘चौबिसैँ घण्टे प्रसूति सेवाले गर्भवती महिलालाई सुरक्षित रुपमा प्रसूति हुन ठूलो टेवा पुग्ने हाम्रो विश्वास छ’ श्रेष्ठले भने ‘हरेक प्रसूति जोखिमयुक्त हुने हुँदा स्वास्थ्य संस्थामै आएर प्रसूति हुने वातावरण सिर्जनाका लागि सेवालाई प्रभावकारी बनाउन लागेका छौँ ।’

श्रेष्ठले ग्रामीण तहका महिलाहरुको स्वास्थ्य संस्थासम्म पहुँच वृद्धि गर्न दुर्गमका स्वास्थ्य संस्थामा थप प्रसूति केन्द्र सञ्चालन गर्ने तयारी भएको जानकारी दिए । हाल जिल्लाको बुर्तिवाङ, कुश्मीशेरा, धम्जा, राङखानी, रेश, सुखौरा, जैदी, हुग्दीशिर, बाटाकाचौर, हिल, हटिया, रिघा, पाण्डवखानी, ग्वालिचौर, बोवाङ, बोहोरागाँउ, निसी, तमान, अमलाचौर, लेखानी, नारायणस्थान, पैँयूपाटा, दमेक, तङ्ग्राम र हरिचौर गाविसमा रहेका स्वास्थ्य संस्थामा प्रसूति केन्द्र सञ्चालित छन् ।

ती सबै केन्द्रमा २४ घण्टे प्रसूति सेवा सुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । गाविसस्तरबाट माग भई आएका प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्यचौकी र उपस्थास्थ्यचौकीमा प्रसूति केन्द्र स्थापना गरी आवश्यक पूर्वाधार थप गरेर प्रसूति सेवा सुरु गरिएको कार्यालयको भनाइ छ । जिल्लामा थप नयाँ प्रसूति केन्द्र पनि स्थापना हुने चरणमा छन् । दगातुम्डाँडा, बुङ्गादोभान र छिस्तीमा रहेको स्वास्थ्यचौकीले प्रसूति केन्द्र स्थापनाका लागि अनुमति प्राप्त गरेको जनाएको छ ।

त्यस्तै देविस्थान गाविसले पनि केन्द्र स्थापना गर्न माग गरेको छ । राँयडाडा, विहुँ र रणसिंहकिटेनी गाविसमा स्थापनाका लागि तयारी भएको वरिष्ठ जनस्वास्थ्य प्रशासक श्रेष्ठले जानकारी दिए । ग्रामीण क्षेत्रमा प्रसूति केन्द्र स्थापना भएपछि घरमा प्रसूति हुने क्रम घट्दै गएको उनको भनाइ छ ।

जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार बागलुङमा अहिले पनि घरमै प्रसूति हुने महिलाको सङ्ख्या बढी छ । करिब ६५ प्रतिशत महिला घरमै प्रसूति हुने गरेको कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयले प्रसूति केन्द्रमा प्रसूति हुने महिलालाई प्रोत्साहन रकम र शिशु तथा आमाका लागि न्यानो झोला उपहार पनि प्रदान गर्दै आएको छ । रासस :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com