सिटामोल किन्न २ दिन पैदल यात्रा I

बाजुरा आषाढ ३१,

जिल्लाको कोल्टी गाविस कुरुका स्थानीयले सिटामोललगायत सामान्य औषधि लिन पनि दुई दिनको पैदलयात्रा गर्नुपर्ने बाध्यता छ । स्वास्थ्य संस्था अपायक ठाउँमा हुँदा उनीहरू आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित भएका छन् । 

बिरामी लिएर स्वास्थ्य केन्द्र जान सम्भव नै नभएको कुरुका स्थानीय जगत रोकायाले बताए । स्वास्थ्य केन्द्र जाने बाटोसमेत अप्ठेरो हुँदा झनै समस्या भएको उनको गुनासो छ । रोकायाले भने, ‘स्वास्थ्य केन्द्र जान दुई दिन लाग्छ, बाटो राम्रो छैन भीरैभीर हिँड्नुपर्छ, बिरामीलाई स्ट्रेचरमा बोकेर जाँदा हिँड्नसमेत नमिल्ने अवस्था छ ।’ कोल्टी वडा ५ ,६ र ७ मा तीन सयभन्दा बढी परिवार बसोबास गर्छन् । 

समयमै उपचार नपाएर कुरुका ६ सातजना स्थानीयले बर्सेनि अकालमै ज्यान गुमाउने गरेको स्थानीयको गुनासो छ । आफूहरूको स्वास्थ्य सेवा पाउने अधिकारबाट सरकारले वञ्चित गरेको रोकायाले बताए । सबैभन्दा धेरै गर्भवती महिलालाई समस्या हुने गरेको छ । समयमै उपचार नहुँदा सामान्य समस्या जटिल हुने गरेको स्थानीयले बताए । उनीहरूका अनुसार लामो बाटो बोकेर लैजानुपर्ने हुँदा बिरामीसँग जानेलाई पनि उत्तिकै कष्ट हुने गरेको छ । 

एक स्थानीयले भने, ‘बिरामी लैजान युवा नै चाहिन्छ, बुढापाका र बल नभएकाले हिम्मत नगरे पनि हुन्छ, युवाहरू काममा गइहाल्छन् ।’ स्वास्थ्य संस्था जाने बाटोमा बास बस्ने ठाउँसमेत नभएको राजन रोकायाले बताए । उनका अनुसार बास बस्ने र खाने ठाउँ नहुँदा बिरामीको बिजोग हुने गरेको छ । रोकायाले भने, ‘घरैमा रोटी पकाएर दुई दिन पुग्ने गरी बोकेर पनि लैजाने गरेका छौँ, कोल्टीमा पनि बिरामी ठीक नभए नेपालगन्ज लैजान्छौँ ।’ स्वास्थ्य केन्द्र अपायक ठाउँमा भएपछि सामान्य बिरामी हुँदा जंगलमा पाइने तीतो, कटुकी, पदमचारो, भुल्ते र गदार्नो खाएर उपचार गरिरहेको रोकायाले बताए । 

उनले भने, ‘गाउँघरमा बिरामी हुँदा वैद्यहरू बोलाएर जंगलको जडीबुटी खुवाउनुपर्छ । ।’ यस्तै बाजुराका रुगिन, बिच्छया, दहकोट, काँडा, साप्पाटा, गोत्री, जुकोट, वाई, मानाकोट, जयवागेश्वरीलगायत अधिकांश गाउँमा नजिक स्वास्थ्य संस्था नहुँदा स्थानीय स्वास्थ्य सेवाबाट वञ्चित छन् । भएका स्वास्थ्य कार्यालयमा कर्मचारीसमेत नभेटिने गरेको स्थानीय धनलाल रोकायाले बताए । यता, जिल्ला स्वास्थ्य कार्यालयले भने वर्षाका कारण कर्मचारी कोल्टी सेवा केन्द्रमा जान नसकेको जनाएको छ । ( नयाँ पत्रिकाबाट)

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com