बागलुङ, ११ साउन ,
सरकारको विपन्न नागरिक औषधि उपचार कोषबाट गत आर्थिक वर्षमा बागलुङका १३२ नागरिकले लाभ लिएका छन् ।
आर्थिक विपन्नताका कारण उपचार गराउन नसकेका नागरिकले कोषबाट प्रदान गरिने आर्थिक सहायता प्राप्त गरेका हुन् ।
स्वास्थ्य मन्त्रालयले तोकेको कडा रोगबाट पीडित विपन्न नागरिकले औषधि उपचारबापत् आर्थिक सहायता पाएको जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।
उपचार गर्न लागेको खर्चमध्ये बढीमा एक लाख रुपैयाँसम्म उक्त कोषबाट प्राप्त गर्न सकिने व्यवस्था छ ।
कडा रोगमध्ये क्यान्सर, मिर्गौला, मुटुरोग, पार्किन्सस तथा अल्जाइमर्स र स्पाइनल तथा हेड इन्जुरीबाट पीडित बिरामीलाई कोषबाट आर्थिक सहायता उपलब्ध गराइएको वरिष्ठ जनस्वास्थ्य प्रशासक महेश्वर श्रेष्ठले जानकारी दिए ।
नागरिक औषधि उपचार कोष निर्देशिका–२०७० मा उल्लेख भएका र नेपाल सरकार मन्त्रिस्तरको निर्णयबाट तोकिएका अस्पतालबाट मात्रै यो सेवा प्रदान गर्ने गरिएको छ ।
प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्लामा रहेको सिफारिश समितिले गत आर्थिक वर्षमा सिफारिश गरेका १३२ जना विपन्न नागरिकले उपचार कोषबाट लाभ उठाएको समितिका सदस्यसमेत रहनुभएका श्रेष्ठले बताए ।
उपचाररत अस्पतालले गरेको रोग पहिचानको प्रमाणपत्र, सम्बन्धित गाविसले दिने विपन्नताको सिफारिश, बिरामी या आफन्तको हस्तलिखित निवेदन र नागरिकताको प्रमाणपत्र पेस गरेमा जिल्लास्तरीय सिफारिश समितिले सम्बन्धित अस्पतालमा सिफारिस पठाउने गरेको छ ।
त्यसरी सिफारिश पाएका बिरामीको उपचारमा लाग्ने खर्चमध्ये बढीमा एक लाख रुपैयाँसम्मको उपचार सम्बन्धित अस्पतालले निःशुल्क रूपमा गरिदिने गरेको छ ।
बिरामीको औषधि उपचार गरेबापत स्वास्थ्य मन्त्रालयले एकमुष्ट वा पटकपटक गरी अस्पताललाई शोधभर्ना गर्ने गरेको छ ।
“एक वर्षभित्रमा १३२ जना बिरामीको उपचारका लागि कोषबाट सहायता प्राप्त भएको छ, करिब रु एक करोड ३२ लाखकै हाराहारीमा आर्थिक सहयोग विपन्न नागरिकले प्राप्त गर्नुभएको छ,” श्रेष्ठले भने, “आर्थिक अभावमा उपचार गराउन नसक्ने परिवारलाई यसले ठूलो राहत मिलेको छ, सबैले विपन्न भएको सिफारिश लिएर आइदियो भने चाहिँ वास्तविक विपन्न समस्यामा पर्ने खतरा छ ।”
मिर्गौला प्रत्यारोपण नै गर्नुपर्ने बिरामीलाई भने दुई लाखसम्म आर्थिक सहायता दिइने गरेको छ । मिर्गौला प्रत्यारोपण गरेका बिरामीलाई औषधिबापतको उपचार खर्च भनेर छुट्टै रु एक लाख दिने व्यवस्था निर्देशिकाले गरेको छ ।
क्यान्सरका लागि वीरअस्पताल, त्रिवि शिक्षण अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल लगायतका अस्पतालहरू तोकिएका छन् । रासस: