[लघुकथा] दाइजो

-लिला रिजाल सुबेदी


छोरीको बिहेको कुरा त पक्का भो अब बिहे पो कसरी गर्ने होला ...कस्ता खालका कुटुम्ब हुन ... पौडेल सर गहिरो चिन्तामा थिए | मिठाईको थाली टेबुलमा अघि सार्दै भने – ‘ केटाकेटीबाट मनपरापर भयो | अब हाम्रो काम बाँकी रहयो बिहे कहाँ कसरी गर्ने हो बसेर सल्लाह गरौँ ’ नेपालजीले मिठाइ हातमा लिदै भने – ‘ हेर्नोस हामीलाइ दाइजो चाहिदैन हामी दाईजोको शख्त बिरोधी हौँ

सरकारले पनि यससंग सम्बन्धित् बिधेयक पनि ल्याएको छ रे सुन्दैछु बिहे साधारण तरिकाको हुनुपर्छ | तपाई हामी जस्ताले दाइजो प्रथाको बिरोध नगरे अरु कसले गर्ने ? दाइजोका कारण कैयौं महिलाहरुले अकालमै ज्यान गुमाउनु परिरहेको कुरा हामीबाट छिपेको छैन हुन् पनि हामीलाई किन पो चाहियो र अर्काको सम्पतीले कतिदिन पो पुग्छ र ? हामीसंग घर छ , गाडी छ केटो पढेलेखेको जागिरे छ हेन्डसम छ अरु के चाहिएको छ र उसैपनि अनुप दाइजोको शख्त बिरोधी हो कुरै सुन्न चाहदैन हामीलाई त् खाली असल केटी चाहिएको छ | हाम्रो पनि रहरको बिहे हो फेरी फेरी गरिन्न क्यारे हाम्रो तर्फ बाट त् बुहारीलाई भनेर भने जती गहना तयारी गरीसकेका छौं |’ नेपालजीका कुरा सुनेर पौडेल सर ढुक्क भएर लामो सास फेरे

खुसी भएको देखेर नेपालजीले भने –‘ हेर्नोस पौडेल सर आजकल छोरीको बिहे गर्न दश पन्ध्र लाख भनेको त मामुली कुरा हो बाँकी चलीआएको चलन आफन्त नातागोता लाई कपडा अनि सम्मान स्वरूप नगद रुपैया ,राम्रो गेस्टहाउसमा खाने बस्ने ब्यबस्था त भनिरहनु पर्दैन हामी दाइजो खोजिरहेको छैनौं आफन्तहरु धेरै छन् खान्दानी परिवार हो , ठुलो छ सबै जन्ती जान खोज्छन , नल्याउदा पनि चारपाच सय त भैहाल्छन

जन्तीहरुलाई पछि टिका टिप्पणी गर्ने ठाउँ नदिउं येसो खाममा पैसा हालेर दिदा नि चल्छ ज्वाईलाई छोरीलाई दिन त आफ्नैलाई त् दिनु हो अफिस जानआउन, आफ्नै छोरीज्योई लाई यसो सपिंग गर्न जान सजिलो हुन्छ बाइक किन्नेबेलामा चाही खबर गर्नुहोला राम्रो कम्पनि मैले चिनेको छु मिलाएर दिन्छ येसो फलानाको ससुरालीबाट आएको भन्न नि हुन्छ छोरीको इज्जतका लागि , दराज ,टिभी, फ्रीज गृहस्थी का लागि चाहिने समान.....ज्योईलाई सिक्री ब्रासलेट छोरीलाई गहना यी सब कुराहरु त जस्तै नहुनेले पनि दिने गर्छन  

बरु एउटा कुरा गरौँ कि ..गाडीको भाडा चाहिं हजुरको तर्फबाट गर्नुपर्छ अरु पछि दुल्हन फर्काउदा गर्ने चलन चाहिं पछि नै एक पटक श्रीमती आउछिन उनि संगै बसेर कुरा गर्दा हुन्छ .....फेरी तपाईहरुकी त एक्लीछोरी हुन् क्यारे समाजको अगाडी इज्जत फ्याक्नु पनि त् भएन नि ----तपाइहरुलाई जे दिन मनलाग्छ आफ्नै छोरीलाई हो निस्फिक्री दिन सक्नुहुन्छ हाम्रो परिवार दाइजो प्रथाको शख्त बिरोध गर्छ
पौडेलसर नेपालजीका कुरा सुनेर गहिरो सोचमा डुबे

ईटहरी नेपाल
हाल: ईजरेल

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com