समाज किन क्रूर बन्दैछ ?

 काठमान्डू आषाढ २२,

महिलामाथि हुने अनेक उत्पीडनमध्ये घरेलु हिंसाबाट पनि नेपाली महिला उत्तिकै प्रभावित छन्। सामान्य रूपमा हेर्दा हिंसा शब्द शारीरिक यातना वा कुटपिटसँग सम्बन्धित देखिन्छ। आज पनि महिला घरेलु हिंसाबाट पीडित छन्। भनिन्छ- ८२ प्रतिशत महिला घरेलु हिंसाबाट प्रभावित छन्। सासुले बुहारीमाथि गर्ने र पतिले पत्‍नीमाथि कुटपिट गर्ने महिलाको इच्छाविपरीत यौन दुराचार गर्ने, पुत्र लाभ नभएकोमा महिलामाथि हुने मानसिक यातना आदि घरेलु हिंसाका केही उदाहरण हुन्। हाम्रो समाज, संस्कृति, धर्म आदिले पनि महिलामाथि हुने हिंसालाई वैधानिकता दिने काम गरेको छ। जसले गर्दा ज्यादतीविरुद्ध उजुरी दिँदा महिला आफूलाई असुरक्षित महसुस गरेको स्थिति छ।

परिवारमा हुने मानसिक, शारीरिक वा यौन हिंसा, बालिका वा गृहिणीको यौन शोषण, दाइजोसँग सम्बन्धित हिंसा, बलात्कार, कुटपिट, यौनमा चोटपटक लगाउने कार्य र कुनै पनि खालका हिंसासम्बन्धी शोषण, समाजभित्र हुने शारीरिक, मानसिक र यौन हिंसा राज्यले निषेध गरेको कुनै पनि खालको शारीरिक, मानसिक एवं यौन हिंसा पर्छन्।

समाज किन यसरी क्रूर हुँदैछ ? महिला, बालबालिकाले यो समाजबाट कहिलेसम्म तिरस्कृत भइरहनुपर्ने हो, जसलाई जन्म दियो त्यहीबाट आज असुरक्षित छन् महिला। भारतमा त यसको डरलाग्दो तथ्यांक छ।

पछिल्लो समयमा महिला अधिकार हननका अपराध मामिलामा वृद्धिसँगै एउटा कुरा के पुष्टि गर्छ भने अब समाजमा प्रेम सद्भावको ठाउँ विस्तारै क्रूरताले लिँदैछ वा भनौं समाज क्रूर हुँदैछ र त्यो हुनुको प्रमुख कारण अशिक्षा हो तर शिक्षित मान्छेले पनि यस्तो कार्य गर्नुको पछाडि आधुनिक सञ्चार प्रणालीको दुरुपयोगलाई पनि लिने गरिन्छ। महिला हिंसा सामाजिक अपराध हो, यसका विरुद्ध समाजलाई जागरुक बनाउन जरुरी छ। समाज जागरुक भयो भने बोक्सी, छुवाछूत, बलात्कारका, दाइजोपीडितलगायतका घटना स्वयं निराकरण हुनेछन्।
 
समाज जागरुक भयो भने बोक्सी, छुवाछूत, बलात्कारका, दाइजोपीडितलगायतका घटना स्वयं निराकरण हुनेछन्।

केही पुरुषबाट महिला हिंसाका घटना हुने गरे पनि यसको अर्को पाटो भनेको समाजमा देखिएका अधिकांश घटनामा महिला हिंसालाई बढावा दिनेमा सबैभन्दा बढी महिला नै छन्। बुहारीको घरबाट चाहेजतिको दाइजो भित्रिन सकेको छैन भने सासूले नै परिवारमा सबैभन्दा बढी रडाको मच्चाउने गर्छिन् र बुहारीको अवस्था हत्या वा आत्महत्यातिर अग्रसर हुने गर्छ। दाइजो मागेबमोजिम दिन नसकेकाले लोग्ने र सासू मिलेर बुहारीको हत्यासम्म गरिएका थुप्रै घटना छन्।

गाउँघरमा अज्ञानताको कारणले महिला हिंसा बढेकोले जनचेतनामूलक कार्यक्रमका साथै शिक्षाको प्रकाश पार्नु आवश्यक छ। सहरमा शिक्षास्तर राम्रो रहे पनि आधुनिक सञ्चार प्रणाली जस्तै टीभीमा आउने यौन उत्तेजनात्मक कार्यक्रम, इन्टरनेटको दुरुपयोग, मोबाइलमा राखिने अश्लील भिडियो तथा चलचित्र आदिले गर्दा यौन चाहना बढाएको देखिन्छ। केटीले लगाउने पारदर्शी लुगा वा उत्तेजनात्मक लुगा लगाउँदा पनि केटा वा पुरुषको मनमा यौनको भोक अधिक मात्रामा जागृत हुने गर्छ परिणामस्वरूप बलात्कारको घटना हुने गरेको देखिन्छ। 

सोको नियन्त्रणका निम्ति अभिभावक चनाखो हुनुपर्छ। आफ्ना बालबालिका वा छोरीलाई अरूको विश्वासका भरमा कहीँकतै छोडेर जानु हुँदैन। महिला हिंसालाई बढावा दिने अपराधीलाई कडाभन्दा कडा सजाय दिनका निम्ति नियम तथा कानुन कडाइका साथ लागू गर्नुपर्ने देखिन्छ, अन्यथा महिला अधिकारका कुरा केवल नारामा मात्र सीमित हुनेछ।  (गीता अधिकारि-अन्नपूर्ण)

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com