इजरेल बिरुद्ध नेपालमा धर्ना गर्न लागेका प्रिय बुद्धिजीवीहरुलाई एक पत्र ।

हिजो श्रावन ६ गत्ते रातोपाती मा प्रकाशित  '' इजरायली आक्रमणको विरोधमा नेपालमा धर्ना '' शिर्षक समाचार पढे पछि केहि लेखुँ लाग्यो । र नेपालका बुद्धि जीवि, मानव अधिकारवादी तथा उक्त धर्ना कार्यक्रम मा सम्मिलि केहि सच्चा पत्रकार ज्यू हरुको मानविय धर्म देख्दा मन दङ्ग दास भो । आफ्नोको लागि नासहि, अरुकै लागि भए नि कमसेकम ति दयालु महामानवहरुमा मानवियता ज्यूँदो रहेछ ।  ललितपुर पुल्चोक संयुक्त राष्ट्र संघ भवन लगायत क्रम बद्ध धर्ना कार्यक्रमका खाका देखेर त्यो देखेर उधुम उदेग लाग्यो । मानव अधिकारको वस्त्रमा नै अलिकति दाग लागेको  भान भो ।

अबस्य पनि संसार मा चाहे जा सुकै होस् मानव प्रति अमानविय कार्य हुँदा अर्को चेतान्सिल मानव ले त्यस बिरुद्ध आवाज उठाउनु पर्छ तर यहाँ त अचम्मैको मानव अधिकारवादी देखिए ।  अलिकति प्रसंग स्वदेशकै  _ हिजो बाह्र बर्षे माओवादी जनयुद्ध हुँदा अनगिन्ति निर्दोष व्यक्तिको ज्यान लिइएका थिए/गरेको थियो त्यतिखेर यी मानव अधिकार आवाज काँ थियो ? त्यतिखेर कतिऔं अमानबियकार्यहरु भए, किन त्यहाँ  यस्ता मानविय धर्ना भएनन/गरिएन ?? त्यतिखेर बाउलाई बन्दुक तेर्स्यउदा आमाको पेटिकोट मुनि त थिएनन् यी आवाज ?  इराक, इरान र अफगानिस्तानमा कैयौ नेपालीका ज्यान गएका छन् त्यस बिरुद्ध खोइ यस्ता आवाज ? हिजो जुलाई  बाइस मा अफगानिस्तान मा एक नेपालीको ज्यान गयो त्यस बिरुद्ध  खोइ आवाज ? दुवाइ, कतार, मलेसिया जस्ता देशमा  नेपाली युवा हरुको श्रम शोषण मात्रै भएको छैन अनाहक मा कति सस्तो ज्यान गुमाउन पुगेका छन् खोइ त्यस बिरुद्ध यस्ता आवाज ? आफ्नो  दाजु भाइको खून बग्दा नदुख्ने महानुभावहरु एका एक गाजामा बगेको खून ले कसरि चिमोट्यो ?  भनाइको अनर्थ नलागोस , जुन किसिमले यतिखेर गाजा र इजरेल बिच युद्ध भैरहेको छ, त्यसको प्रतिवाद जुन तरिकाले गर्न लागिएको हो नेपालमा वास्तवमा न्याय संगत छैन । दुख्ने हृदये, मानवियता, दया हामीमा पनि छ तर प्रत्यक्ष अनुभव बटुलेका हामी यति भन्न सक्छौं इजरेल रक्तपातको बिपक्षमा छ ।

मानव अधिकार हननकै धर्ना गर्ने हो भने हमास बिरुद्ध गर्नु पर्छ ।  जसले यतिखेर सर्व साधारण, बृद्ध,बृद्धा, बाल बच्चा, महिला लाइ ढाल बनाइ वार गरिरहेको छ/ रगतको होलि खेलिरहेको छ ।  के यो मानव अधिकारको पक्षमा छ ? अहिले सम्म  प्यालेस्टिन/हमास ले सोह्र सय भन्दा बढी  क्षेप्यास्त्र प्रहार गरिसकेको छ इजरेल माथि यदि त्यो निष्क्रिय  नहुने हो भने सयौं मात्र होइन हजारौ मान्छे हताहत भैसक्ने थिए, के त्यो मानव अधिकारको पक्षमा हुन्थ्यो ?

पटक पटक गाजा र इजरेल बीच लडाई :
यी दुइ देश बीच धार्मिक युद्ध नभैरहने भने होइन तर यस पटकको युद्धले तत्काल पूर्ण विराम लाग्ने संकेत देखाएको छैन । सन् १९३० ताका जब जर्मनीका तानाशाही हिटलरले छ मिलियन यहुदी हरुलाई  अनेक तरिकाले तड्पाई तड्पाई मार्यो, त्यस पछि विभिन्न संघर्ष गरि यहुदीहरू इजरेल आइपुगे र यहि पवित्र भुमीलाई आफ्नो उद्गन स्थल मानी बस्ति बसाउन थाले, जहाँ पहिले अरबिक बस्ने गर्थे । यहुदीहरुले  इजरेलमा  यसरि बस्ति बिस्तारित गर्दै गए र  सन्  १९४७ मा सयुक्त राष्ट्र संघले इजरेल यहुदीको र प्यालेस्टिन अरबिकको भनि छुट्यइदिये । इजरेल ले त्यसलाई स्वीकार्दै अघि बढ्यो र अहिले विकाशको उच्चतम शीखरमा पुगेको छ भने प्यालेस्टिनले त्यसलाई अस्विकार गर्यो र त्यस उप्रान्त इजरेल सँग निहुँ खोज्न छोडेन ।  सन् १९४८ लामो युद्ध संघर्ष पश्चात स्वतन्त्रत भएको इजरेल ले २०१४ सम्म आइपुग्दा अहिले ११ औं युद्ध दुर्दशाको सामना गर्दैछ । २०१४ मा आएर अविश्वसनीय तबर ले सुरु भएको यी दुई देश बिचको युद्धले अहिले निकै ठुलो रुप लिएको अबस्था छ । युद्धको सुरुवात भने गाजा बाट नै भएको हो ।

युद्धको सुरुवात गाजा बाट भएको हो :
यतिखेर गाजा र इजरेल बिच चर्किएको युद्ध इजरेल बाट सुरु भएको होइन गाजा बाट भएको । हमास द्वारा गत जुन १२ तारिक २०१४ बिहिबार अपराहन्न तीन इज़रायाली बिद्यार्थी विद्यालय बाट घर फर्कने क्रम मा अपहरण गरिएका थिए र त्यसको ठिक १८ दिन पछि तीनै जना युवाहरुको हत्या गरि फालिदिएका थिए । अपहरण पछि हत्या गरिएका  तीन युवाहरु गिलाद शार (१६ बर्ष) , नाफ्ताली फ़्रेङ्कल (१६ बर्ष) र यऐल इर्फैक (१९ बर्ष) का थिए । कुनै डिमाण्ड वा सर्त नराखेका आतंकवादी समुहले ती तीन बिद्यार्थीहरुलाई किन, कुन स्वार्थका लागि  अपहरण  गरे र १८ दिन पछि जुन २९ मा मारे यो अहिले सम्म रहस्यकै विषय बनेको छ र युद्ध को सुरुवात ।  तीन जनाको दाह संस्कार पछि केहि सीमा वरपर सामान्य बिरोध स्वरुप नारा, जुलुस आगजनी भए र ढुंगा हानाहान हुन थाल्यो । बिना कुनै कारण निर्दोष आफन्त मारिएपछि तात्तिएको युहुदी द्वारा सीमावर्ती क्षेत्रमा अरबिक एक बच्चाको हत्या गर्न पुगे त्यस पश्चात के खोज्छस काने भने झैँ गाजा यसै त कसरि निहुँ खोजुँ भैरहेको बेला यहीं निहुमा रकेट प्रहार गर्न थाल्यो । यो रकेट प्रहार गर्ने क्रम गाजाले निरन्तर गरिरह्यो इज़रायल माथि त्यस पश्चात प्रतिरक्षात्मक जवाफमा इज़रायलले पनि प्रहार गर्न बाध्य भयो महास माथि । यो चलिरहेको युद्ध इज़रयालले चाहेको होइन । हमासले इज़रायल माथि हरदम प्रहार गरेको क्षेप्यास्त्रको प्रतिरक्षार्थ  यदि इज़रायलले आबिस्कार(Invent) गरेको आइरन डोम (Iron Dome) नहुँदो हो त यतिखेर कैयौं घर, अस्पताल, बिद्यालय, अन्तराष्ट्रिय विमान स्थाल र औधोगिक टावरहरु ध्वस्त भैसकेका हुन्थे र हजारौं नागरिक मरि सक्ने थिए । हमासले आकाश बाट मात्र होइन जमिन मुनि बाट पनि आक्रम गर्न पचासौं भन्दा बढी अत्या आधुनिक सुरुङ्ग खनी हात हतियार लुकाएको फेला परेको छ । केहि दिन अघि त्यहि सुरुङ्ग द्वारा इजरेली सुरक्षा कर्मिको बर्दी लगाएर किबुच (सामुहिक बस्ति) इजरेल भित्र प्रवेस गरेका एक समुहलाई इजरेल ले तुरुन्त पहिचान गरि पक्रन सफल भयो । र, इज़रायल स्थित विभिन्न पेसामा कार्यरत अन्य देशका नागरिक यतिखेर सम्म स-कुशल छन् । गाजा द्वारा पठाइएका ती कैयौं रकेटलाइ निस्तेज पार्ने आइरन डोम नहुने भए इजरेल बाहिरका सबै मान्छे अस्ति नै आ- आफ्नो देश फर्की सकेका हुने थिए/थियौं तर बिदेशी कुनै पनि नागरिक यस युद्धको दसामा परि ज्यान गुमाएका छैनन् अहिले सम्म । देशका लागि लड्दै गरेका २८ जना सुरक्षाकर्मी र अन्य दुई गरि जम्मा ३० जनाले ज्यान गुमाइसकेका छन् इजरेल तर्फ भने गाजा तर्फ साढे ६ सय पुगिसकेको छ ।

गाजा द्वारा शान्ति प्रस्ताव अस्विकार :
यी दुई देश बीच चर्किदै गएको युद्ध रोक्न विभिन्न राष्ट्र द्वारा चिन्ता व्यक्त गर्दै इजिप्ट र अन्तराष्ट्रिय रेड क्रस सोसाइटीको मध्यस्ततामा शान्ति प्रस्ताव भयो इज़रायल द्वारा त्यसको तुरुन्त स्वीकारोक्तिको हात उठेको थियो भने प्यालेस्टिन/गाजाले अस्विकार गर्दै युद्धलाई झनै चर्कायो (असफल शान्ति वार्ता जुलाई १७ तारिक बिहिबार २०१४ मा भएको थियो) । थुप्रै राष्ट्र लगायत यतिखेर सयुक्त राष्ट्र संघका अध्यक्ष वानकी मुन लागिपरेका छन् यी दुई देश बीच शान्ति कायम गर्न । यतिखेर हमासको यस शान्ति प्रस्ताव अस्विकार ले कतिऔं निर्दोषले ज्यान गुमाउदै छन् के यो  मानवअधिकार हननको  विपक्षमा छ ?

मानव अधिकारवादी भनिने नेपालका बुद्धिजीवीहरुले मानव अधिकार हनन भयो भनि इजरेल बिरुद्ध धर्ना गर्नु पूव यो जान्नु जरुरि छ गाजामा भौतिक आधारभूत सामग्री लागाय, खाध्य चिज, दुघ्ध, पानी , बिजुली सबै कुरो इजरेल बाट नै गाजामा उपलब्ध हुन्छ । अन्तराष्ट्रिय मान्यतानुसार यतिका युद्ध हुँदा सम्म इजरेल ले ती सब कुरा बाट गाजालाई बन्चित गरेको छैन । र साथै संयुक्त राष्ट्र संघको सहायतामा गाजालाइ उपलब्ध विकाश अनुदानका समान अहिले उल्टै इजरेल लाइ नै प्रहार गर्दै छन् विवेकशील बुद्धिजिविमा प्रश्न छ यो कस्तो खालको न्याय हो ? अब माननीय बुद्धिजीवीहरुलाइ मुल्यांकन गर्न गाह्रो पर्ने छैन मानव अधिकार हनन बारे ।

अन्त्यमा :
यदि नेपालमा मानव अधिकार हनन भयो भनि इजरेल बिरुद्ध धर्ना गर्ने हो हामी दुई देश (इजरायल नेपाल) बिचको सुमधुर दौत्य सम्बन्धमा पनि असर पर्ने छ  र इजरेल  स्थित रोजीरोटी कमाइरहेका  करिब पाँच हजार नेपालीहरुमा यहुदीले गर्ने व्यबहार र हेर्ने दृष्टिमा अन्तर आउदैन भन्न सकिन्न । स्मरण रहोस  इजरेलमा कार्यरत नेपालीहरु द्वारा आफ्नो व्यैयाक्तिक आर्थिक स्तर मात्रै उकासेका छैनन् देशलाई टेवा पुर्याउनु कार्यका साथै नेपालमा दुखेका धेरै दुखि बाडी-पीडितहरुलाई पवित्र मनले सहयोग गरि सामाजिक कार्य गर्नमा पनि अग्र पंतिमा छन् ।

यो रक्तपातले हामी सबै दुखेका छौं । हाम्रो कामना छ यी दुई देश बीच यथासक्य चाँडो शान्ति स्थापना होस् ।

सुनिता राई (सुब्बा)
सुनसरी हाल इज़रायल

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com