मिर्गौला रोगीहरुलाई गिरफ्तार I

काठमाडौँजेष्ठ २७,

घण्टाघर नजिकै धर्नामा बसेका मिर्गौला रोगीहरुलाई प्रहरीले आज गिरफ्तार गरेको छ । सम्पूर्ण मिर्गौला रोगीलाई निःशुल्क रक्त शुद्धीकरण सेवा निरन्तर दिइनुपर्ने माग राखेर चक्काजाम गर्दै धर्नामा बसेका मिर्गौला रोगीहरुलाई प्रहरीले गिरफ्तार गरी सिंहदरबार वैद्यखानामा लगेको छ । 

मिर्गौला रोगी चिन्तामणि पोखरेल, समीर पोखरेल, अजय शाही, राजु कनैया, सरिता सत्याल, शिव खनाल र यामबहादुर सिजाललगायत करिब ७० जनालाई प्रहरीले गिरफ्तार गरेको हो । राष्ट्रिय मिर्गौला पीडित सङ्घ नेपालको अगुवाइमा धर्ना कार्यक्रम आयोजना गरिएको हो । 

आर्थिक अवस्था अत्यन्त कमजोर भएका मिर्गाैला रोगीले मिर्गाैला प्रत्यारोपण वा औषधि सेवनका लागि महँगो धनराशि खर्चिनुपर्ने हुँदा सरकारले निःशुल्क उपचार गरीदिनुपर्नेलगायत सात सूत्रीय माग राखी उनीहरुले बिहान १० बजे सडकमै धर्ना दिएको थियो । 

सङ्घले प्रत्यारोपण सम्भव भएका बिरामीलाई तुरुन्त र निःशुल्क प्रत्यारोपण गरिदिनुपर्ने, औषधि सेवन तथा विभिन्न प्रयोगशालामा परीक्षण निःशुल्क गर्नुपर्ने र मिर्गौला रोगीलाई अपाङ्गताको सूचीमा राखी गाँस, बास र कपाससहित रोजगारी सुनिश्चित गरिदिनुपर्ने माग राखेको छ । रासस:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com