गर्भवती जाँच गराउन कन्जुस्याइँ I

बाँके आषाढ ६,

बाँकेका महिलाहरुले गर्भवती जाँचमा कन्जुस्याइँ गर्ने गरेका छन्। नियमित गर्भ जाँच नगर्दा एकातिर प्रसूतिका क्रममा बच्चा र आमाको मृत्यु भइरहेको छ भने अर्कोतिर गर्भ जाँच गरेबापत दिनका लागि आएको ठूलो मात्राको रकम फ्रिज हुँदै आएको छ। चालु आर्थिक वर्षमा गर्भ जाँच गरेबापत गर्भवती महिलालाई दिनका लागि ३२ लाख ८० हजार रुपियाँ आएकामा अहिलेसम्म जम्मा ३ लाख ९२ हजार रुपियाँ मात्रै गएको छ। 

जिल्ला जनस्वास्थ्य कार्यालय, बाँकेका लेखा अधिकृत कृष्ण तिवारीले यो वर्ष अहिलेसम्म १२ प्रतिशत रकम गएको बताए । गत वर्ष नौ प्रतिशत रकम मात्रै गएको थियो। ९१ प्रतिशत रकम फ्रिज भएको थियो। यसपालि पनि ठूलो रकम फ्रिज हुने निश्चित भइसकेको छ। ४, ६, ८ र ९ महिनामा नियमित गर्भ जाँच गर्ने महिलालाई सरकारले ४ सय रुपियाँ दिने गर्दछ। तोकिएकै समयमा गर्भ जाँच गर्नुपर्ने प्रावधान रहेकाले महिलाहरुले ‘मिट’ गर्न नसकेको सम्बद्धको भनाइ छ। 

‘गर्भवती जाँच त गर्न आउँछन् तर तोकिएको समयमा गर्दैनन्’, जिल्ला जनस्वास्थ्य कार्यालय, बाँकेका प्रमुख जीवनकुमार मल्लले भने– ‘तोकिएको समयमा गर्भ जाँच नगर्नेलाई पैसाँदिन मिल्दैन।’ बाँकेमा पहिलो पटक गर्भ जाँच गराउन आउने ९० प्रतिशत छन्। तर, चौथो चरणमा पुग्दा त्यो ४८ प्रतिशतमा झर्ने गर्दछ। यसलाई हेर्दा पहिलो पटक समयमै गर्भ जाँच गराउने महिलाहरु पनि बीचमा हराउने गरेको पाइयो। ‘कोहीले २⁄३ पटक जाँच गर्छन्। कोहीले चारै पटक गरे पनि तोकिएको समयमा गर्दैनन्।’ –जनस्वास्थ्य प्रमुख मल्लको भनाइ छ। 

नियमित गर्भ जाँच नगर्दा बाँकेमा मातृ मृत्युदर उच्च रहेको छ। चालु आर्थिक वर्षमा अहिलेसम्म २२ जनाको मृत्यु भइसकेको छ। बाँकेमा वर्षेनी औसतमा २२⁄२३ जना गर्भवती⁄सुत्केरीको मृत्यु हुने गरेको तथ्यांकले देखाएको छ। गत वर्ष २३, त्यसअघिका वर्षमा क्रमशः २६, २२ र १८ जना आमाको मृत्यु भएको थियो। सरकारले गर्भ जाँचमा चार सय, स्वास्थ्य चौकीमा सुत्केरी हुनेलाई पाँच सय रुपियाँ प्रोत्साहन भत्ता दिने गर्दछ। तर, बाँकेमा त्यसरी आएको ठूलो मात्राको रकम वर्षेनी फ्रिज हुँदै आएको छ। 

सरकार र वैदेशिक सहयोगमा सुत्केरी यातायातका लागि चालु वर्षमा बाँकेमा ३ करोड २५ लाख रुपियाँ आएको थियो। त्यसमा अहिलेसम्म २ करोड १८ लाख ३७ हजार रुपियाँ खर्च भएको छ। यो खर्च अप्रेसन, साधारण सुत्केरी र यातायात खर्चसमेतको हो। सरकारले दिएको सेवा पनि नलिने प्रवृत्तिले बाँकेमा मृत्युदर बढेको छ। नियमित गर्भ जाँच गरेमा बच्चा र आमाको अवस्था थाह हुने र मृत्यु हुने सम्भावना कम हुने स्वास्थ्यकर्मीहरुको भनाइ छ। 

नियमित गर्भ जाँच नगर्ने र घरमै सुत्केरी गराउने प्रवृत्ति बढी छ। घरमा सुत्केरी गराउने क्रममा जटिलता आएपछि मात्रै अस्पतालमा लगेको पाइन्छ। अन्तिम अवस्थामा पुगिसकेका त्यस्ता आमालाई चिकित्सकले पनि बचाउन सक्दैनन्। २२ मध्ये आधा दर्जन बढी घरबाट ल्याउँदा र अस्पतालले रिफर गरेपछि अर्को ठाउँमा लैजाने क्रममा बाटोमा मृत्यु भएका छन्। 

रगत बगेर बढी आमाको मृत्यु भएको अध्ययनले देखाएको छ। डाइबिटिज, एचआईभी, मलेरिया र सिकलसेलका कारण २८ र रगत बगेर २७ प्रतिशत आमाको मृत्यु हुने गरेको जनस्वास्थ्य प्रमुख मल्लको भनाइ छ। (नेपाल समाचारपत्र)

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com