मस्को जेठ ३,
कृष्णप्रकाश श्रेष्ठ : केन्द्रीय रुसको कालुगा अञ्चलस्थित ‘एत्नोमिर’ (‘नृवंशलोक’) अन्तर्गत निर्मित ‘नेपाली घर’ को प्रांगणमारुसमा रहेका नेपालीहरुले २५५८–नौं बुद्धजयन्ती भव्यताका साथ मनाए ।
रुसमा रहेको नेपाली समुदायका प्रतिनिधिहरु र तिनका रसियाली मित्रहरुका साथै आमन्त्रित पाहुनाहरुको समुपस्थितिमा नेपालका विभूति, एशियाका ज्योति र विश्वमा शान्ति तथा अहिंसाका अग्रदूत सिद्धार्थ गौतम बुद्धको धरावतरण, बोधिप्राप्ति तथा महापरिनिर्वाणको पवित्र दिन वैशाख पूर्णिमाकै शुभमुहुर्तको अवसरमा मास्कोबाट ९० किलोमिटर टाढा पर्ने रमणीय स्थलमा रसियाली तथा नेपाली उद्यमीहरुको संयुक्त लगानी र अथक प्रयासस्वरूप नेपालको सांस्कृतिक केन्द्रको रुपमाअस्तित्वमा आएको ‘नेपालमण्डप’ मा बनेको ‘नेपाली घर’ मा गृहप्रवेशोत्सव पनि सुसम्पन्न भएको छ ।
नेपाली पाठकवृन्दलाई सर्वप्रथम रुसमा निर्मित ‘नेपाली घर’ कै संक्षिप्त परिचय दिन चाहन्छु । विशाल ‘एत्नोमिर’ परियोजनअन्तर्गत दक्षिण एशियाका भारत, श्रीलंका आदि देशका मण्डपहरुको माझमा एक अत्यन्त आकर्षक र मौलिक शैलीको ‘नेपाल–मण्डप’ ले त्यहाँ पुग्ने जोकोहीलाई पनि टाढैबाट आकर्षित गर्दछ । रुसमा नेपाली संस्कृतिको प्रचारप्रसारका लागि एक सांस्कृतिक केन्द्रको रुपमा यस ‘नेपाल–मण्डप’ ले कार्य गर्ने सुनिश्चित छ ।
नेपालमण्डपको प्रवेशद्वारमै रहेका सिंह–सिंहनी, गणेश–कुमारका कलात्मक प्रस्तरमूर्तिहरुले सजाइएको गजूरयुक्त प्रवेशद्वार, दुई बगलमा कलात्मक स्तम्भ भएका दुई पाटी, हातले धकेल्दा घुम्ने तामाका मन्त्रयुक्त मानेहरु जडान गरिएका लङहरु, ठूलो घण्ट, तीनवटा गजूरले सुशोभित छाना र छानाको वरिपरि बलेंसीमा बतास चल्दा बज्ने स–साना फिरफिरे घन्टीहरूको पंक्ति र काष्ठकारीको कलात्मक खापा भएको तोरणसहितको मूलढोका हालिएको नेपाली शैलीको घर, पर्खालमा विभिन्न देवदेवीका मूर्तिहरू रहेको गहिरो ठाउँमा तीनवटा कलात्मक ढुङ्गेधारा, त्यसैमाथि देखिने गरी आँगनको बीचमा बनाइएको पालाहरुजडित दीपमालाको घेराभित्र रहेको बुद्धका मूर्तिहरुसहितको आकर्षक प्रस्तरकै चीभा (सानो चैत्य),रूखको चौतारी आदि नेपालित्वको चिन्हारी दिने कुराहरूले सिंगारिएको आँगनको एकातिर अग्लो थुम्कोका प्रथम सगरमाथा विजेता आरोहीद्वय तेन्जिङ नोर्गे शेर्पा र एडमुण्ड हिलारीको युगल सालिक पनि रहेको छ ।
दुई वर्ष लगाएर निर्माण गरिएको यस परियोजनाका लागि ईंटा, ढुंगा, सिमेन्टजस्ता निर्माण सामग्रीहरु बाहेक आवश्यक तैयारी वस्तु (अग्राखका कलात्मक भ्mयाल–ढोकाका फ्रेम र पाटीका स्तम्भका साथै ढलोटका विभिन्न कलात्मक सामग्री र प्रस्तरका शिलापत्र, ढुङ्गेधारा, चैत्य एवं मूर्तिहरू आदि) नेपालबाटै ल्याइएका हुन् । नेपालबाटै कालिगढ ल्याएर बनाइएको १२ सय वर्गमिटर क्षेत्रफल भएको दुईतले ‘नेपाली घर’ को अगलबगलमा गंगा–जमुनाको मूर्तिहरुको बीचमा अष्टमङ्गलका प्रतीकचिन्हअंकित खापाहरुसहितको मूलढोकाबाट भित्र पस्नासाथपहिलो तलामै बीचमा धलोटको बज्रराखिएकोप्रवेशकक्ष, त्यसको अगलबगलमा प्रदर्शनीकक्ष, सभाकक्ष, संग्रहालय आदिका साथै तल–माथि दुवै तलामा गरी २२ डबलकोठासहितको होटल, नेपाली रेष्टुराँ, नेपाली क्युरिओ र सुभिनियर पसल आदि पनि संचालित गरिने छन् ।
रुसका लामाहरुले ढ्याङ्रो बजाएर मन्त्रोच्चारण गरी गृहप्रतिष्ठाको विधिव्यवहार पूरा गरेपछि रुसी पोशाकमा सजिएकी युवतीले डबलरोटी र नून राखिएको बुट्टे रुमालले ढाकिएको तसला दुई हातले लिएर समारोहमा उपस्थित नेपाली राजदूत डा. रविमोहन सापकोटा, माभ्रिकियाकी राजदूत तथा भारतीय राजदूतावासका शिक्षा कोन्सुलर दीपक मिश्र लगायत गण्यमान्य व्यक्तिहरुसमक्ष प्रस्तुत गर्दै रुसी परम्पराअनुसार आगन्तुक पाहुनाहरुको हार्दिक सत्कार गरेकी थिइन् ।
तत्पश्चात् रुस–नेपाल मैत्री तथा सहयोग समाजका उपाध्यक्ष डा. मणिराज पोखरेलले समारोहको सञ्चालन गर्दै नेपालको लुम्बिनीमा जन्मेका र भारतको बोधगयामा बोधि प्राप्त गरेका बुद्धको जन्मजयन्तीको उपलक्ष्यमा ‘नेपाली घर’ को प्रांगणमा उपस्थित सबैप्रति हार्दिक शुभकामना व्यक्त गर्नुभयो ।
तत्पश्चात् कालुगा अञ्चलमा अवस्थित ‘एत्नोमिर’ परियोजनाका प्रमुख रुस्लान बैरामोभले १० वर्षअघि सन् २००४ मा पहिलोपल्ट नेपालको यात्रा गर्दा ‘एत्नोमिर’ परियोजनअन्तर्गत नेपालको सहभागिताबारे सोच बनाइएको र नेपाली उद्यमीहरुका साथै रुसका लागि तत्कालीन नेपाली राजदूत सूर्यकिरण गुरुङसंगको कुराकानीपश्चात् संयुक्त रुपले नेपाल घरको शिलान्यास गर्ने योजना बनी निर्माणकार्य पनि सुरु गरिएको सम्झना गर्दै बुद्धजयन्तीका दिनदेखि नेपाली घरको सञ्चालन हुन लागेकोमा हर्षोदगार व्यक्त गर्नुका साथै अतिथिहरुको हार्दिक स्वागत गर्नुभयो ।
गैरआवासीय नेपाली संघ केन्द्रीय निवर्तमान अध्यक्ष जीवा लामिछानेले नेपाली घरको आन्तरिक साजसज्जाको कार्य सम्पन्न गरिएपछि बुद्धजयन्तीको पावन अवसरमा गृहप्रवेशको समारोह गर्न पाइएकोमा हर्षप्रकट गर्नुभयो र ठीक तीन वर्षअघि सन् २०११ को २४ जुलाईका दिन प्रमुख अथितिद्वय नेपालका उपप्रधानमन्त्री तथा कालुगा अञ्चलका भाइस–गभर्नरको समुपस्थितिमा मास्कोमा बसोवास गरिरहेका अधिकांश नेपालीहरू तथा छैटौ. गैरआवासीय नेपाली क्षेत्रीय सम्मेलनमा भाग लिन मास्कोमा भेला भएका विश्वका २५ देशहरूबाट आएका ३०० प्रतिनिधिहरूसमेत गरी ४०० भन्दा बढी नेपालीहरूका साथै दशौं रसियाली मित्रहरूले पनि उद्घाटन समारोहमा भाग लिएको तथ्यको स्मरण गर्दै यसपल्ट ‘नेपाली घर’ को सञ्चालनसहित रुसमा सानो नेपालको झलक दिने स्थलमा बुद्धजयन्ती समारोह भव्यतापूर्वक मनाउन उपस्थित सबैप्रति हार्दिक शुभेच्छा प्रकट गर्नुभयो ।
गैरआवासीय नेपाली संघ केन्द्रीय कोषाध्यक्ष डा. बद्री के.सी.ले ‘नेपाली घर’ ले कार्यारम्भ गरेपछि अब नेपालको यात्रा गर्न इच्छुक तर अभैm नेपाल नपुगेका रसियाली मित्रहरुले रुसमै नेपालको सानो झलक पाउन सक्ने हुँदा यहाँ केही दिन बसेर नेपाली रहनसहन, खानपिन र जनजीवनको केही अनुभव भित्रबाटै बटुलेर नेपालको सांस्कृतिक, धार्मिक र सामाजिक जीवनशैलीको परिचय प्राप्त गर्नुहुनेछ भन्ने सदीच्छा व्यक्त गर्नुभयो ।
गैरआवासीय नेपाली संध अन्तर्राष्ट्रिय समन्वय परिषदमा विश्वभरि छरिएर रहेका नेपाली नारीहरुको प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य सपिला राजभण्डारीले रुसमा नेपालको सानो परिचय दिने ‘नेपाल घर’ को निर्माणमा सुरुदेखि नै संलग्न भई यहाँ प्रदर्शित नेपाली संस्कृतिका सम्पूर्ण कलात्मक सामग्रीहरुको निर्माणको क्रममा नेपाली संस्कृतिबारे विशेष जानकारी समेत हासिल गरिएको जनाउँदै ‘नेपाली घर’ को निर्माणमा भाग लिने वास्तुकलाविद्, मूर्तिकार, धातुकर्मी र काष्ठकर्मीशिल्पीहरु र रुसका अभियन्ता एवं कामदारहरु सबैप्रति हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो र ३ वर्षअधि सुसम्पन्न यस ‘नेपाली घर’ को उद्घाटनपश्चात् हरेक वर्ष यहाँ आएर नेपाली परम्पराअनुसार प्रस्तरमूर्तिहरुमा तैललेपन गर्ने र विशेष हर्षोल्लासका साथ बुद्धजयन्ती मनाउने परम्परा कायम भएको जानकारी दिंदै यस सालको बैशाख पूर्णिमाका दिन गृहप्रवेशोत्सवसहित बुद्धजयन्ती मनाउन उपस्थित सबैप्रति आभार र शुभकामना प्रकट गर्नुभयो ।गैरआवासीय नेपाली संघ रुसका अध्यक्ष डा. मधुकृष्ण श्रेष्ठ ‘माधुर्य’ ले बुद्धको जन्मस्थल नेपाल हो भन्ने विश्वव्यापी अभियानमा रुसमा रहेका नेपालीहरुले पनि सक्रियतापूर्वक भाग लिइरहेको जानकारी दिनुभएको थियो ।
रुसका लागि महामहिम नेपाली राजदूत डा. रविमोहन सापकोटा कोपिलाज्यूले बुद्धजयन्तीको उपलक्ष्यमा शुभकामना व्यक्त गर्नुभई ‘सिद्धार्थ गौतम नेपालको लुम्बिनीको राजकीय परिवारमा जन्मेका राजकुमार भईकन पनि राजशी शन र विलाशिताले उनलाई कत्ति पनि आकर्षित गर्न सकेन । उनी यस सांसारिक मोहबाट विरक्त भई दुःख के हो, दुःखको कारण के हो र यसबाट कसरी मुक्त हुन सकिन्छ भनी ज्ञानको खोजमा निक्ले र निरन्तर तपस्या गरी ज्ञान प्राप्त गरे’ भन्नुहुँदै तीनवटा सबैभन्दा महत्व राख्ने घट्नाहरु घटेको ‘यस्तो शुभ अवसरमा नेपाल हाउसको साइत गर्न पाउनु सौभाग्यको कुरा हो’ भन्ने अभिव्यक्ति दिनुभयो र अगाडि थप्नुभयो ः ‘यो घर नेपालको मौलिक संस्कृति र कलाको अलौकिक नमूना हो ।
नेपाली विविध संस्कृति र रहनसहनको झल्को सानो छानामुनि पाउन सक्ने गरी यसको निर्माण गरिएको छ । हरेक नेपालीलाई यहाँ आउँदा आफ्नो घरमा आएको जस्तो महसूस हुन्छ र नेपाल मन पराउने विदेशी मित्रहरुलाई पनि यो घरले नेपाली झल्को मेटाउँछ । म यो परियोजनाबाट अत्यन्तै खुशी र प्रभावित छु । यस परियोजनाको कारणले नै विभिन्न संस्कृति, कला तथा बनावटलाई एकै ठाउँमा देख्न पाउने अवसर प्रदान गरेको हो । मानिसहरु भौतिकवादी हुँदै गइरहेको समयमा मानवहरुको सामाजिक भावना तथा आर्थिक रुचि दुवैलाई मिश्रण गरेर तयार गरिएको यस्तो सुन्दर नमूना अत्यन्तै प्रशंसनीय छ...’ ।
आफ्नो मन्तव्यको अन्त्यमा महामहिमज्यूले ‘नेपाली पहिचानको यस संरचना निर्माणमा संलग्न हुनुहुने’ नेपालीहरु र एत्नोमिर परियोजना अध्यक्ष रुस्लान र उनको सम्पूर्ण टोलीलाई पनि धन्यवाद ज्ञापन गर्नुभयो ।
नेपाली राजदूत डा. रविमोहन सापकोटाज्यूले ‘नेपाली घर’ को सञ्चालनमाविशेषयोगदानपु¥याउनु हुने रुस्लानबैरामोभ, जीवालामिछाने, सपिला राजभण्डारी, उत्सवअमात्यतथा डा. बद्रीके.सी.लाई खादाओढाएर सम्मानगर्नुभयो भने गैरआवासीयनेपाली संघ रुसकाअध्यक्ष डा. मधुकृष्णश्रेष्ठ ‘माधुर्य’ का साथै वरिष्ठ नागरिकको हैसियतले यस पंक्तिकरलाई पनिखादाओढाएर सम्मानगर्नुभयो ।
तत्पश्चात् पावन बुद्धजयन्तीको सन्दर्भमा बुद्धको शिक्षाको मनन गर्दै चीभा (चेत्य) को वरिपरि रहेका पालाहरुमा ज्ञानको प्रतीक ज्योति प्रज्ज्वलन गरेर समारोहको औपचारिक खण्डको समापन गरियो
त्यसपछि समारोहमा उपस्थित आयोजक तथा अतिथिहरु सबैले ‘नेपाली घर’ मा प्रवेश गरे । पाहुनाहरुलाई नेपाली घरको चोटाकोठाको अवलोकन गराइयो । त्यहाँ एक ठूलो कक्षमा नेपाली परिकारहरुद्वारा सजाइएका टेबुलहरु रहेका थिए ।
त्यसपछि समारोहमा उपस्थित आयोजक तथा अतिथिहरु सबैले ‘नेपाली घर’ मा प्रवेश गरे । पाहुनाहरुलाई नेपाली घरको चोटाकोठाको अवलोकन गराइयो । त्यहाँ एक ठूलो कक्षमा नेपाली परिकारहरुद्वारा सजाइएका टेबुलहरु रहेका थिए ।
वसन्तकालीनउज्यालो साँझमा ‘नेपाली घर’ मा नेपालीहरु र तिनका पाहुनाहरुसन्ध्याभोजमा सरीक भएर रमाउँदै अनुभवको आदानप्रदान गरिरहेका देखिन्थे । मास्कोतिर फर्कने क्रममा म ३ वर्षअघि सम्पन्न भएको ‘नेपाली घरको’ उदघाटन समारोहको वेला त्यहाँ प्रांगणमासजाइर झुन्ड्याइएको ठूलो नेपाली घन्टको बगलमै स्थापित त्रिभाषिक शिलापत्रको निम्न श्लोक अनायासै गुनगुनाउन पुगेको थिएँ ः ं
नेपाली संस्कृति, शिल्प, कला, जीवन–पद्धति
प्रचारार्थ लिई लक्ष्य देशको गर्न उन्नति,
रूसमा यो बनेको छ ‘नेपाली घर’ सुन्दर
नेपाल–रूस मैत्रीको बनोस् यो सङ्गम–स्थल !
मास्को, रुस महासंघ ।
मास्को, रुस महासंघ ।