दोहा (कतार), वैशाख २५ ,
बिनाबाबु बच्चा जन्माउन यहाँको कानुनले दिँदैन ...
घरेलु कामदारका लागि साउदी अरब पुगेका चार घरेलु कामदार महिला (हाउसमेड) ले त्यहीं जन्मेका बच्चाको बाबु देखाउन नसकेकाले दुई वर्षदेखि जेलमा छन् । साउदीका लागि नेपाली राजदूत उदयराज पाण्डेका अनुसार बच्चासहित जेल परेका उनीहरू २५ देखि ३५ वर्षका छन् । 'दुई महिला दुई वर्षदेखि जेलमा छन्,' उनले भने, 'दुई जना आठ महिनादेखि ।'
उनीहरूमध्ये एकजना जेद्दास्थित जेल र बाँकी तीन जना रियादस्थित नसिङ र मल्लाज जेलमा छन् । उनीहरूलाई दूतावासले रेखदेख गर्दै आइरहेको छ ।
चारैजना अस्पतालमा बच्चा जन्माइसकेपछि पक्राउ परेका हुन् । 'अस्पतालमा बाबुको विवरण ती महिलाले देखाउन सकेनन्,' राजदूत पाण्डेले भने, 'त्यसपछि आवश्यक कारबाहीका लागि जेल लगिएको हो । बिनाबाबु बच्चा जन्माउन यहाँको कानुनले दिँदैन ।' ती महिलाले बच्चाका बाबुहरू बंगलादेशी र भारतीय भएको बताउँदै आएका छन् । 'कसैको पूर्ण विवरण दिन सकेका छैनन्,' उनले भने, 'सत्य नबताउँदा झन् समस्या भएको हो ।'
साउदीले ती महिलालाई बच्चासहित नेपाल फर्काउन आग्रह गर्दै आए पनि बाबुको परिचय नभएकाले दूतावासले बच्चाका लागि 'ट्राभल डकुमेन्ट' दिन सकेको छैन ।
'बच्चालाई ट्राभल डकुमेन्ट दिलाउने विषयमा पहिलेदेखि नै परराष्ट्र मन्त्रालयमार्फत गृह मन्त्रालयमा पत्रचार भइरहेको थियो,' राजदूत पाण्डेले भने, 'बिदामा नेपालमा गएको मौकामा आफैं गृह मन्त्रालयमा गएर मानवीय हिसाबले डकुमेन्ट दिने विषयमा निर्णय गराएँ । अब डकुमेन्ट दिएर स्वदेश पठाउने प्रक्रिया सुरु गरेको छु ।'
नेपालको नागरिकता ऐनअनुसार नेपाली नभएर अन्यका हकमा ट्राभल डकुमेन्ट दिन नमिल्ने उनले बताए । यसअघि पनि दूतावासमा बच्चासहित महिला आउने गरेका थिए ।
'धेरैजसोमा नेपाली आफैं जिम्मा लिन आउने गर्थे,' उनले भने, 'सबै बुझेर हामी आवश्यक डकुमेन्ट जारी गर्ने
गथ्र्यौं ।' यसैबीच कतारमा पनि एक महिला बच्चासहित जेलमा छिन् । किल्नर कम्पनीमा काम गर्न आएकी उनी उपचार गर्न अस्पताल पुगेपछि पक्राउ परेकी हुन् । पाँच महिनाको गर्भवती भएका बेला उनी अस्पताल गएकी
थिइन् । उनले जेलभित्रै बच्चा जन्माइन् । उनी र बच्चालाई स्वदेश जान दूतावासले ट्राभल डकुमेन्ट दिइसकेको छ ।(होम कार्की-इकान्तिपुर)