दिसामा पाइने जीवाणु पानीमा पाइयो जसकारण हेपाटाइटिस इ फैलंदै I

काठमाडौं बैशाख २६,

दिसामा पाइने कोलिफर्म जीवाणु मिसिएको पानी प्रयोगका कारण विराटनगरमा हेपाटाइटिस इ फैलिएको पुष्टि भएको छ। प्रभावित क्षेत्रबाट संकलन गरी ल्याइएको पानीको नमुना टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा दिसामा पाइने कोलिफर्म ब्याक्टेरिया भेटिएको पुष्टि भएको छ। 

अनुगमनका लागि विराटनगर पुगेका स्वास्थ्य सेवा विभागअन्तर्गत महामारी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. बाबुराम मरासिनीले भने, ‘स्पष्ट भाषामा भन्दा दिसा मिसिएको पानी खाँदा विराटनगरबासी हेपाटाइटिस ई बाट ग्रसित भएका छन्।’ विराटनगरमा बिहीबारसम्म नौ सय ३१ जना यो रोगबाट प्रभावित भएको तथ्यांक छ। त्यसमध्ये करिब ४० जनालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ भने बाँकीको विराटनगरका अस्पतालमा उपचार भइरहेको छ। मरासिनीका अनुसार रोग नियन्त्रणका लागि उमालेको वा क्लोरिन हालेको पानी प्रयोग गर्नुबाहेक अर्को कुनै विकल्प छैन। 

मरासिनीले नेपालमा हेपाटाइटिस ई नियन्त्रणका लागि हालसम्म कुनै निश्चित औषधि चलाउने वा खोप दिने अभ्यास नभएको पनि बताए। हेपाटाइटिस ई बाट संक्रमितलाई अस्पताल भर्ना गराएर आराम गराउने र सलाइन दिने काममात्र भइरहेको छ। महाशाखाका भेक्टर ब्रोन डिजिज कन्ट्रोल शाखाका प्रमुख डा. युवराज घिमिरेले भने, ‘खानेपानीमा व्यापक लापरबाही भइरहेको रहेछ, जसले गर्दा सयौं मानिसको ज्यान जोखिममा छ।’ हेपाटाइटिस ई ले विराटनगरमा पछिल्लो तीन सातादेखि महामारीको रूप लिएको छ। उक्त रोगबाट हालसम्म तीनजनाको ज्यान गइसकेको सरकारी तथ्यांक छ। 

एकजना काठमाडौंमा उपचारका क्रममा, एकजना भारतमा र एकजनाको विराटनगरमा मृत्यु भएको हो। ‘तत्कालै यो रोग नियन्त्रण हाम्रो हातमा छैन। जनचेतना जगाउनेबाहेक केही काम गर्न सक्दैनौं’, मरासिनीले भने। हेपाटाइटिस लागेपछि मानिसको प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ। चिकित्सकका अनुसार यो रोग हेपाटाइटिस ई भन्ने भाइरसकै कारण लाग्छ। यो रोग विशेषगरी गर्मी बढी हुने क्षेत्रमा बढी देखापर्छ। यो भाइरस विशेषगरी दूषित पानी र खानाबाट एकअर्कामा सर्ने गर्छ। यस्तै कहिलेकहीं घरमा पालेको सुँगुर, राम्ररी नपाकेको मासु खानाले पनि यो रोगको संक्रमण देखिने गरेको छ। यस रोगले विशेषगरी बालबालिका, गर्भवती र रोगप्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिलाई आक्रमण गर्छ। 

जन्डिस हुने, रिंगटा लाग्ने, वाकवाकी आउने, बान्ता हुने, ज्वरो आउने, थकान महसुस हुने, खाना नरुच्ने आदि हेपाटाइटिस ई का लक्षण हुन्। यो रोगबाट संक्रमितलाई बढी मात्रामा कार्बोहाइड्रेड भएको खानाजस्तै पाउरोटी, जाम, बिस्कुट, आलु आदि खुवाउनु उपयुक्त हुन्छ। सफा पानी पर्याप्त मात्रामा पिएर घरमा आराम गरेमा यो निको हुनसक्छ तर कुनैकुनै व्यक्तिमा संक्रमण फैलिएर कलेजोले काम गर्न छाड्ने र मानिसको मत्युसम्म हुनसक्छ।अन्नपूर्ण :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com