जोखिमपूर्ण प्रविधिसँग यसरि खेल्दै किशोरी I

दाङ, जेष्ठ १५ ,

चार वर्षअघिसम्म बिजुलीको तार र बल्ब छुन पनि डराउने रिनाकुमारी चौधरी अहिले बिहानदेखि बेलुकासम्म विद्युत्को जोखिमपूर्ण काममा व्यस्त हुन्छिन् । 

उनका दिन इन्भर्टर जोड्ने, मर्मत गर्ने र ट्रान्सर्फमर बनाउनेमै बित्छ । अधिकांश पुरुषले मात्र गर्ने ट्रान्सर्फमर जोड्ने काममा उनले दक्षता हासिल गरेकी छन् । बुटवलमा १५ महिने इलेक्टि्रकल सवओभरसियर अध्ययन गरेपछि उनी बुटवलमै जागिरे भएकी छन् । 

दुई सातायता टेक्निकल स्कुलको शिक्षिकाका रूपमा उनको अर्को जिम्मेवारी थपिएको छ । १९ वषर्ीया रिना अब विद्यार्थी र कामदार मात्रै होइनन् गुरु पनि भएकी छन् । दुई पिरियड सैद्धान्तिक कोर्स पढाएर उनी विद्यार्थीलाई अभ्यास गराउँछिन् । त्यसमा वायरिङदेखि हाइड्रोपावरका कामसमेत सिकाउँछिन् । 'धेरैले जोखिमपूर्ण काम किन गरेको भन्छन् तर मलाई यस्तै मन पर्छ,' पूर्वकम्लरी रिनाले भनिन्, 'कम्लरीले भाँडा माझ्नेबाहेक अरू केही गर्न सक्दैनन्, उनीहरूको भविष्य छैन भन्ने समाजलाई फरक काम गरेर देखाउने चाहना छ ।' जोशीपुर ९ लोक्री कैलालीकी रिनाको सिंगो परिवार नै कमैया हो । 

परिवार कमैया भएपछि उनी पनि सानैदेखि कम्लरी बसेकी थिइन् । चार वर्षअघि मुक्त भएर अध्ययन थालेकी रिना उदाहरणीय काम गरेर जीवन परिवर्तन गर्न चाहन्छिन् । पुख्र्यौली सम्पत्ति केही नभएको उनको परिवार सरकारले कमैया मुक्तिपछि दिएको पाँच कट्ठा जमिनमा बसिरहेको छ । 'बुबा, दिदी, भाउजूहरू अझै पनि जमिनदारकामा काम गर्छन् । आयस्रोतको अरू उपाय छैन,' रिनाले भनिन्, ' परिवारलाई कमैयाबाट मुक्त गर्न सकिएको छैन तर मैले केही सीप हासिल गरेकी छु । यसलाई थप व्यावसायिक बनाउन चाहन्छु ।' रिनाजस्तै विगतमा कम्लरी बसेका किशोरी अहिले आधुनिक प्रविधिका जोखिमपूर्ण काम गर्न उत्साहित छन् । 

रिनासँगै बुटवलको इन्भर्टर हाउसमा काम गरिरहेकी जोशीपुर ५ लालपुर कैलालीकी २२ वर्षीया मिच्छुकुमारी चौधरी पनि सवओभरसियर हुन् । नेपाल युथ फाउन्डेसनको सहयोगमा अध्ययन अवसर पाएकी मिच्छु अब हाइड्रो पावरमा काम गर्ने योजना सुनाउँछिन् । 'ठूला परियोजनाहरूमा काम गर्ने इच्छा छ । हाम्रो समुदायमा छोरीलाई कम्लरी पठाएर दास बनाइयो,' उनले भनिन्, 'अब समाजले नपत्याउने काम गरेर आफ्नो भूमिका देखाउने बेला आएको छ ।' दुई वर्ष कम्लरी बसेकी उनी चुनौतीपूर्ण काममा हात हाल्न इच्छुक रहेको बताउँछिन् । महिनामा २ सय ८ घन्टा विद्युत्को काम गर्ने गरेको उनले बताइन् । 

पढेर काम पाउँदा परिवारमा खुसियाली छाएको उनले बताइन् । 'कसैले त यस्ता काम गर्छन् भनेर पत्याउँदैनन्,' उनले भनिन्, 'छोरीहरू पनि यस्तो काम गर्छन् र भन्छन् । मैले नपत्याउने काम पनि गर्न सकिन्छ भन्ने गरेकी छु ।' बिनौना ६ बाँकेकी १८ वर्षीया सुमनकुमारी चौधरी पनि इलेक्टि्रसियन पढिरहेकी छन् । २९ महिने कोर्सको अन्तिम महिनामा रहेकी सुमन पढ्दापढ्दै वायरिङको काम गर्छिन् । 

युवती घरका भित्तामा चढ्ने, हथौडाले खोल्ने र पेचकस लिएर तार जोडिरहेको देख्दा धेरै जना आश्चर्य मान्छन् । 'कतिपयले त पत्याउँदैनन् । अप्ठ्यारो काम छ, कसरी गर्छौ भन्छन्,' उनले भनिन्, 'काम देखेपछि विश्वास गर्छन् ।'(दुर्गालाल केसी-इकान्तिपुर)

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com