संयोग वा दैवी चमत्कार ! मच्छिन्द्रनाथको रथजात्रा प्रारम्भ हुनासाथ राजधानीमा वर्षा I

काठमाडौ, वैशाख १९ ,

वर्षा र सहकालका देवताका रूपमा मानिने मच्छिन्द्रनाथको रथजात्रा प्रारम्भ हुनासाथ काठमाडौँमा बिजुली चम्किनुका साथै बिहीबार दिउँसोदेखि भारी वर्षा भएको छ । यो अनौठो संयोगमात्र नभई देवताको सत अझै बाँकी छ भन्ने बूढापाकाको विश्वासलाई यसले पुष्टि गरेको छ । 

प्राचीनकालदेखि नै मच्छिन्द्रनाथको सम्बन्ध पानीसँग रहेको छ । अर्थात् मच्छिन्द्रनाथको रथारोहणदेखि जात्रा अवधिभरमा कुनै न कुनै दिन नेपाल मण्डलमा वर्षा हुन्छ भन्ने जनविश्वास छ । संस्कृतिविद् डा चुन्दा बज्राचार्यले मच्छिन्द्रनाथको रथजात्रा सुरु हुनासाथ पानी पर्छ भन्ने धार्मिक विश्वास रहेको बताउँदै अन्नबाट भरिपूर्ण गराउने विश्वास गरिएको यो जात्रा धार्मिक दृष्टिबाट मात्र नभई अहिलेको युगमा अन्न उत्पादनको दृष्टिबाट पनि महत्वपूर्ण भएको बताए । उहाँका अनुसार नेवार समुदायले अन्नबाट भरिपूर्ण गराउने देवता मच्छिन्द्रनाथलाई स्यानो केराउ, चाकु, सखरखण्ड तथा चप्पाको धूलोजस्ता खाद्यपदार्थ राखेर पूजा गर्ने चलन रहेको छ । 

प्राचीनकालमा नेपालमा पानीको हाहाकार भएकाले लिच्छवी राजा नरेन्द्र देवको नेतृत्वमा ललितपुरका एक ज्यापू भारतको कामारुकामाक्ष पुगेर प्रसिद्ध तान्त्रिक बन्धुदत्त बज्राचार्य तथा मच्छिन्द्रनाथलाई नेपाल ल्याएको इतिहासमा वर्णन गरिएको छ । आफ्नो गुरु मच्छिन्द्रनाथलाई दर्शन गर्न पाउँ भनेर बाबा गोरखनाथले नेपालका अति महत्वपूर्ण नागराजासहित विभिन्न नौ वटा सर्पमाथि आसन जमाई तपस्या बसेपछि नेपाल मण्डलमा १२ वर्षसम्म पानी नपर्दा जनजीवन नराम्रोसँग प्रभावित भएको थियो । 

रातो मच्छिन्द्रनाथलाई कामारुकामाक्षमा राक्षसहरूबीचबाट फुत्काएर काठमाडौँ ल्याउन असम्भव भएकाले प्रसिद्ध तान्त्रिक बन्धुदत्त बज्राचार्यले तान्त्रिक विधिबाट भमराको भेष धारण गरेका मच्छिन्द्रनाथलाई सुनको कलशमा राखी ती ज्यापूले बोकेर नेपाल ल्याएको इतिहासमा वर्णन गरिएको छ । सर्प तथा नागराजाको शरीरमा बसेर ध्यान गरिराखेका बेला उहाँका गुरु रातो मच्छिन्द्रनाथ सो स्थानमा आएपछि उनलाई दर्शन गर्न बाबा गोरखनाथ लामो तपस्याबाट उठेपछि नेपाल मण्डलमा वर्षा सुरु भएको धार्मिक मान्यताअनुसार रातो मच्छिन्द्रनाथलाई वर्षाको प्रतीकका रूपमा पूजा गर्ने चलन सुरु भएको हो ।

मच्छिन्द्रनाथलाई अन्नदाताका रूपमा पनि पुजिने चलन नेवार समुदायमा छ । मच्छिन्द्रनाथलाई बौद्ध धर्मावलम्बीमात्र नभई हिन्दू धर्मावलम्बीले पनि सहकालका देवता तथा अन्नदाताका रूपमा पुज्ने गर्छन् ।  रासस :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com