ओखलढुंगाको धार्मिक तथा पर्यटकीय ठाउँ ककनी I

नेपालको पूर्बी पहाडी जिल्ला ओखलढुंगा सदरमुकामबाट ३५ किलोमिटर पश्चिम फेदिगुठ गाविसको वडा न: १,फुलबारी गाविसको वडा न:८ , बिलन्दु गाबिसको वडा न: ९ र कटुन्जे गाविसको वडा न: ४ को संगमस्थलमा करिब २००० मि. को उचाइमा अबस्थित श्री चम्मदेविको देवस्थललाई ककनी नामले चिनिन्छ ।

प्रकृतिको काखमा रहेको देवस्थल सुन्दरतामा अद्धितीय छ । ककनीस्थित श्री चम्पदेवी देवस्थल नेपालका बिभिन्न महत्वपूर्ण प्रचलित धार्मिक स्थानमध्ये एक हो । परापुर्बकालमा यसै स्थानमा महादेवकी पत्नी सतीदेवीको अङ्ग पतन भएको र त्यसैबेलादेखि यस ठाउँमा पूजाआजा गर्न थालिएको धार्मिक बिश्वास रहेको छ । स्थानीय किबदन्ती अनुसार आजभन्दा सयौंबर्ष आगाडी एक भेडागोठालाले हाल बजार लाग्ने ठाउँ (कटुन्जे-४) मा भेडीगोठ लगेछन् । एकदिन भेडा चराउने क्रममा ती भेडागोठालाकी चम्पा नामकी छोरीलाई भाघले खाएछ । छोरीलाई बाघले खाएपछि ती गोठालाले भेडीगोठ घर लगेछन् । 

अर्को साल पुन त्यही ठाउँमा गोठ ल्याउँदा उनका गाई, भेडा-बाख्रा चर्दै हाल देवीको मन्दिर भएको ठाउँतिर गएछन्  तर ती सबै बस्तुभाउ त्यही अलप भएछन् । बस्तुभाउ खोज्दै जाँदा गोठालाले कन्याहरु हाँस्दै हराउँदै गरेको देखेछन् । साथै बस्तुभाउ नभेटिएकोले उनि चिन्तित हुँदै गोठमा फर्केर सुतेछन् । त्यसै रात सपनामा एकजना केटीले म चम्पा हुँ, मेरो फलानो ठाउँमा मूर्ति छ (अहिले मूर्ति भएको ठाउँ) खनेर हेर र मेरो पुजा-आराधना गर भनिछिन् । भोलि पल्ट सोहि ठाउँमा खनि हेर्दा जाज्वल्यमान मूर्ति भेटिएको र पुजा गर्दा हराएको बस्तुभाउ फेला परेको भन्ने जानश्रुति छ । तिनै कन्याले सपनामा बताएअनुसार प्राचीनकालदेखि प्रतेक हरिबोधनी एकादशीबाट पन्चमीसम्म पुजा गर्न थालिएको हो ।

श्री चम्पादेवीमा दूध, दही, घ्यू, तामाको त्रिशुल, सुनको टिका, सतविज धूप अक्षता र फूल लिई चम्पादेवीको पुजाआजा तथा दर्शन गर्नाले आफ्नो मनोकामना पुरा हुने, प्राकृतिक विपत्तिबाट बच्न सक्ने. सन्तान नहुनेलाई सन्तान हुने, शत्रुनास हुने, सम्पती नहुनेलाई सम्पती प्राप्त हुने जनविश्वास रहिआएको छ । चम्पा देवीको बारेमा अनेकौं किंवदन्ती र जनविश्वास रहिआएका छन् । प्रतेक बर्ष हरिबोधनी एकादशीदेखि पन्चमीसम्म यस स्थानमा ओखलढुंगा, खोटाङ्ग, सोलुखुम्बु, सिन्धुली, उदयपुर, भोजपुर, रामेछाप दोलखा र तराइका बिभिन्न जिल्लाहरुबाट मात्र होइन छिमेकी राष्ट्र भारतको सिक्किम र दार्जिलिङ्ग लगायतको ठाउँबाट लाखौंको संख्यामा तिर्थालु / ब्रतालु भक्तजनहरु चम्पादेवीको दर्शनार्थ ककनीमा आउने गर्दछ । 

विशेषगरी एकादशी, पुर्णिमा र पन्चमीमा यहाँ ठूलो मेला लाग्ने गर्दछ । अरु दिनमा समेत यहाँ श्रदालु भक्तजनहरुको ठूलो भिड लाग्ने गर्छ । मन्दिर परिसरमा रहेका तीनवटा छाँगा (झरना) मा कपडासहित श्रद्धालुहरूले स्नान गरी चोखो नीतिकासाथ पुजा गर्ने प्रचलन छ । उक्त झरनामा कपडासहित स्नान गर्दा कपडा तुरुन्तै ओभाउने र भक्तजनहरु जति बढ्दै गयो, त्यती नै मात्रामा पानीको छाँगा बढ्दै जाने जनविश्वास छ ।

पर्यटकीय पृष्ठभूमि:
ओखलढुंगाको चम्पादेवी क्षेत्रलाई कैलाश मानसरोवरको बिकल्प मानिन्छ । ककनी क्षेत्र अनुपम प्राकृतिक छटा र सौन्दर्यपूर्ण ओखलढुंगाको घना जङ्गलको बीचमा अबस्थित छ । मानसरोवर पुग्न सामान्य स्वास्थ्य स्थितिले पुग्दैन तर ककनी चम्पादेवीमा पुग्न अंगेरी, खराने, र लालीगुराँसको मगमगाउँदो वास्नासँगै कुनै आधुनिक रिसोर्टको बीचबाट सयर गरे झैँ त्यो देवस्थलसम्म बिनाथकान उकालो पदयात्रा गर्न सकिन्छ । त्यस बाहेक हाल काठमण्डुबाट चरिकोट-मन्थली-साघुंटार-रानीबन हुँदै बिलन्दुबाट देवस्थलसम्म पुग्न सवारीसाधन चल्ने कच्ची सडक निर्माण भैसकेको छ । यहाँको शीतल हावापानी र प्राकृतिक अलौकिक सौन्दर्यको कुनै बर्णन गरी साध्य छैन ।

ककनी र यस आसपासका तीनतले, तालखर्क, भोटेचौर, दलीडाँडा, ककनिखोला फाँट र तीनछाँगा जस्ता ठाउँहरु अत्यन्त मनमोहक छन् । उक्त स्थानहरुबाट Sunrise र Sunset को मनोरम दृश्य मात्र होइन विश्वको सर्बोच्च शिखर सगरमाथादेखि विश्वको सबैभन्दा सुन्दर हिमाल भनेर चिनिने अमाडब्लम, नुप्से, ल्होत्से, नुमूर, र गौरीशंकर जस्ता उच्च हिमालहरु तथा तराइका फाँटहरु प्रतक्ष्य अबलोकन गर्न सकिन्छ । अर्कोतिर पूर्वमा दूधकोशी, पश्चिममा लिखु र दक्षिणमा सुनकोशीका रमणीय फाँटहरुको दृश्य साच्चै चिताकर्षक छ ।

ककनीलाई पिकनिक स्पट (picnic spot), जडिबुटी तथा बन्यजन्तु आरक्षण क्षेत्र र पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने आधारहरु प्रसस्तै छन् । अझ बहुत योजना अनुसार, दोलखाको भिमेश्वर, कालिन्चोक मन्दिरदेखि सुरु गरेर लिखु किनारमा रहेको प्राचिन नर्मदेश्वर नहादेव मन्दिर हुँदै बिलन्दुको कल्पेश्वर महादेवको मन्दिर, ककनी चम्पादेवीको मन्दिर त्यहाबाट हर्कपुरको मोलुंग , सोलुंग र धोबीखोलाको त्रिबेणीधाममा रहेको जलजलेश्वर महादेव मन्दिर, मोलिको प्रसिद्ध पन्चकन्या मन्दिर हुँदै खोटाङ्गको हलेसीसम्मको भू-भागलाई समेटेर बृहत धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने सम्भावनाहरु रहेको छन् ।

अन्य प्राकृतिक आकर्षणहरु:
ककनी मन्दिरबाट उत्तरतिर ३ किलोमिटर नजिकमा रहेको ओखलढुंगा जिल्लाकै अग्लो डाँडा तीनतलेबाट sunrise तथा sunset को मनोरम दृश्य अबलोकन गर्न सकिने , चम्पादेवी मन्दिरको ३ किलोमिटर पश्चिममा परापुर्वकालदेखि उत्खनन गरिएको तामाखानी , बिलन्दु-१ मा रहेको बनझाक्री गुफा, ४ मा रहेको चमेरो गुफा, ४ किलोमिटर नजिकै गौरीवन , दक्षिण-पूर्वतिर ८ किलोमिटर नजिकै कमलाभीरमा चुनढुंगा , ककनी देवस्थलबाट करिब २० कि.मि. पश्चिमोत्तर क्षेत्रमा १३० मिटर अग्लो पोकली झरना ।

१० कि.मि. पश्चिममा नर्मदेश्वर-सिंहदेवी रेन्जमा मयुरहरुको घना बासस्थानमा मयुर नाँच हेर्न सकिने ।

१८ कि.मि. उत्तरमा जिल्लाकै सबैभन्दा अग्लो भूगोल पिके-दिम्बामा यार्चागुम्बा लगायत बहुमुल्य हिमाली औषधीय जडिबुटी भण्डार ।

वनपैदावर:
उच्च पहाडी भू-भागमा पाइने बिभिन्न चाँप, काफल, चुत्रो, सल्लो, बाँझ, झिगनी, फलाट, अंगेरी, घोडाखरी, कटुस, मान्द्रोजस्ता बोटबिरुवाहरु यस छेत्रमा पाइन्छन् । २२ प्रजातिका सुनाखरी फूल, बुकी फूल, लालीगुराँस, चिमल जस्ता फूलहरुले ककनीको सौन्दर्यमा आकर्षण थपेका छन् । लौठसल्लो, धसिंगे(मछिनो), बलु चिराइतो, पाखनभेद, ठूलो ओखती, पाँचऔले, पुमर, कुड्की, सुनपाती, भैरुम्पाती, खर्सुको घ्यू जस्ता बहुमुल्य औषधीय जडिबुटीहरु यस क्षेत्रमा प्रसस्त मात्रामा पाइन्छन् । त्यसै गरी बाघ, भालु, घोरल, हाब्रे, रातो पाण्डा, मृग, जंगली सुगुर (बदेल), जरायो, खरायो, दुम्सी, लंगुर, हरिणजस्ता जंगलीजनावरहरुको लुकामारी हेर्न सकिन्छ ।

सामाजिक सांस्कृतिक:
धार्मिक तथा पर्यटकीय रुपमा मात्र होइन, ककनी संस्कृतिक रुपमा पनि समृद्द छ । नेपालमा बिद्द्द्ममान सबैजसो जातिको बसोबास भएको जातीय र संस्कृतिक बहुबिबिधता यहाको मुख्य विशेषता हो । यस क्षेत्रको बिलन्दु गाविसमा अल्पसंख्यक तथा आर्थिक एवम सामाजिक रुपले पछि परेको बादी जातीको बसोबास रहेको छ । त्यस्तै पहरी र माझी जातीहरु समेत रहेका छन् ।

कटुन्जे ४ ककनी खोलामा रहेको  तामाङ्ग, सुनुवार मात्र होइन , बिलन्दुका तामाङ्गहरुको तामाङ्गसेलो गुरुङ्गहरुको सोरठी नृत्य, मगरहरुको रोदीघर र राई-लिम्बुहरुको पलस गीत शेर्पाहरुको शेर्पा सस्कृति, ब्राम्हण क्षेत्रिहरुको बालनभजन तथा प्रचलित नृत्यहरु यहाको मौलिक संस्कृतिक हुन् । अतिथिहरुको आदरसत्कार र मानसम्मान गर्न सामाजिक-संस्कृतिक एकताको पर्याय छ यो क्षेत्र । पन्चैवाजा, डम्फु, मादल, मुरली ढ्यांग्रो शंख श्रीन्गीनाद जस्ता लोकबाजाहरू यस क्षेत्रमा प्रचलित छन् ।

पूर्ण कान्छा गुरुङ 
ओखलढुंगा , हाल दोहा

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com