निःशुल्क भ्याक्सिनमा शुल्क I

पर्वत बैशाख २८,

 सरकारले निःशुल्क गरेको रेबिजविरुद्ध भ्याक्सिन लगाएबापत जिल्ला अस्पतालले एक सय रुपैयाँ लिने गरेको छ। एक महिनायता अस्पतालले निःशुल्क भ्याक्सिनमा पैसा उठाउन थालेको हो। निजी स्वास्थ्य संस्थामा प्रतिभ्याक्सिन पाँच सय रुपैयाँ पर्छ। सरकारले निःशुल्क गरेको भ्याक्सिनमा अस्पतालले व्यापार गरेको भन्दै प्रयोगकर्ताले विरोध गरेका छन्। 

अस्पताल प्रमुख डा. नारायण ओझाले भ्याक्सिन लगाएबापत शुल्क लिएको स्वीकारे। ‘एक महिनादेखि मात्रै रेविजविरुद्धको भ्याक्सिन प्रयोगमा ल्याएका हौं,’ ओझाले भने, ‘सेवा शुल्कको रुपमा सय रुपैयाँ लिने गरिएको छ।’ उनले भ्याक्सिनको व्यापारभन्दा पनि अस्पताल विकास समितिमा आम्दानी होस भनेर प्रतिभ्याक्सिन सय रुपैयाँ लिने गरेको खुलाए। पर्वतमा यसअघि रेविजविरुद्धको भ्याक्सिन नहुँदा निजी स्वास्थ्य संस्थामा पुगेर लगाउनुपर्ने अवस्था थियो। 

एक महिनाअघिसम्म जिल्ला अस्पतालले रेविजविरुद्ध भ्याक्सिन राखेको थिएन। एक महिनाको अवधिमा अस्पतालले १४ जनालाई रेविजविरुद्ध भ्याक्सिन लगाएको जनाएको छ। ‘एक महिनाको अवधिमै १४ जनालाई भ्याक्सिन लगायौं,’ जिल्ला अस्पतालका अहेव यामप्रसाद शर्माले भने, ‘बजारमा भुस्याहा कुकुर बढ्दै जाँदा समस्या भएको छ।’ दुई साताअघि एकैदिन १० जनालाई कुश्मामा भुस्याहा कुकुरले टोकेको अस्पतालले जनाएको छ। 

रेविजविरुद्धको सुई बौलाहा कुकुरले टोक्नेबित्तिकै, तीन दिनमा, सात दिनमा, १४ दिनमा र २८ दिनमा गरी पाँचपटक लगाउनुपर्ने हुन्छ। ‘निजीमा जाँदाभन्दा जिल्ला अस्पताल आउनेलाई पाँचवटा भ्याक्सिनमा दुई हजार फाइदा हुन्छ,’ अहेव शर्माले भने। पर्वतमा बढी मात्रामा सडक मजदुर र बालबालिकालाई रेविजविरुद्ध भ्याक्सिन लगाउने गरिएको छ। निकै विपन्नलाई भने शुल्क लिने नगरेको उनले बताए। 

२४ घन्टासम्म डिफ्रिजमा राख्नुपर्ने हुँदा जिल्ला अस्पतालबाहेकका स्वास्थ्य संस्थामा रेविजविरुद्ध भ्याक्सिनको सेवा पुर्‍याउन नसकिएको अस्पताल प्रमुख ओझाले बताए। नागरिक दैनिकमा खबर छ ।(स्वास्थ्य-खबर)

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com